सहकारीमा सम्पती शुद्धिकरण : ५ वर्षमा ५ वटा मात्र शंकास्पद कारोबार !

सहकारीमा सम्पती शुद्धिकरण : ५ वर्षमा ५ वटा मात्र शंकास्पद कारोबार ! :: Sahakari Akhabar

काठमाडौं । सम्पती शुद्धिकरण निवारणका लागि सरकारले जारी गरेको कानुन पालनमा सहकारीको अवस्था कमजोर देखिएको छ । वित्तीय क्षेत्रमा बाणिज्य बैंकपछि ठूलो कारोबार सहकारी क्षेत्रमा हुने भएपनि सम्पति शुद्धिकरण गर्न नदिन सहकारी संघसंस्थाले नियामक निकायमा बुझाउने सुचनाको अवस्था भने कमजोर रहेको छ ।

सहकारी संस्थाहरुले वित्तीय जानकारी इकाईमा गर्नुपर्ने रिपोटिङको संख्या बढ्दै गएपनि शंकास्पद कारोबारको रिपोटिङ भने नगन्य गरेका छन् । इकाईका अनुसार गत आर्थिक वर्षमा सहकारी २ लाख ३४ हजार सिमा कारोबारको सूचना पठाएकोमा शंकास्पद कारोबारको सूचना भने शुन्य छ ।

विगत ५ वर्षको अवधिमा सहकारी संस्थाहरुले ५ वटा मात्र शंकास्पद कारोबारको सूचना पठाएको इकाईले जनाएको छ । सम्पति शुद्धिकरणका लागि सहकारी संस्थाहरुको प्रयोग हुने गरेको भन्दै आलोलचना हुने गरेको छ । सहकारीको नियमन कमजोर भएकाले अवैध रुपमा आर्जन गरिएको सम्पति लुकाउनका लागि सहकारीलाई प्रयोग गर्ने गरेको आंशका गरिदै आएको छ ।

ऐन, नियमावली तथा सहकारी विभागले जारी गरेको निर्देशन अनुसार सहकारी संस्थाहरुले वित्तीय जानकारी इकाईमा सिमा कारोबार र शंकास्पद कारोबारको रिपोटिङ गर्नुपर्छ । सिमा कारोबार अन्र्तगत एक व्यक्तिले एकै पटकमा वा पटक/पटक गरेर एक दिनमा १० लाख रुपैयाँभन्दा बढि कारोबार गरेमा तथा जतिसुकै रकम कारोबार गरेपनि शंकास्पद लागेमा त्यसको सूचना केन्द्रलाई दिनुपर्ने व्यवस्था रहेको छ ।

सिमा कारोबारको रिपोटिङ वृद्धि भइरहेपनि शंकास्पद कारोबारको रिपोटिङ भने नभएको राष्ट्र बैंकका अधिकारीहरु बताउछन् । ‘सहकारीमा हुने कारोबारको आधारमा रिपोटिङको अवस्था कमजोर छ’ एक अधिकारीले भने, ‘त्यसैले सहकारी क्षेत्र सम्पति शुद्धिकरणको उच्च जोखिममा छ ।’

सम्पति शुद्धिकरणलाई कडाइ गर्नका लागि सम्पति शुद्धिकरण निवारण ऐन अनुसार सहकारी विभागले २०७४ सालमै निर्देशन जारी गरी सहकारीहरुलार्ई कार्यविधी निर्माण, सम्पर्क अधिकृतको व्यवस्था, समस्यको वर्गीकरण र सूचना राख्न तथा तोकिएअनुसार रिपोटङ गर्न निर्देशन दिएको थियो । तर, उक्त निर्देशन सहकारीमा प्रभावकारी रुपमा लागू हुन सकेको छैन । निर्देशन पालना नगरेको भन्दै एक दर्जनको हाराहारीमा संस्था तथा व्यवस्थापकहरु कारवाहीमा परिसकेका छन् । 



Leave a comment