काठमाडौं । बहुउद्देश्यीय सहकारीहरुको छाता निकाय नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको भविश्य नै अन्योलमा पर्न थालेको छ । अध्यक्ष सुरेन्द्र भण्डारी र सचिव माधव तिमिल्सिना समूहबिचको विवाद लम्बिदै गएपछि संघको अस्तित्व नै खतरामा पर्न थालेको हो ।
कोभिड महामारी र तरलता अभावले समस्यामा परेका सहकारीलाई सहयोग गर्नुपर्ने बेला संघ आफै विवादमा फसेको छ । अर्कोतर्फ सहकारी ऐनमा व्यवस्था गरिएको मुख्य कारोबारको विवादले संस्थाहरु अप्ठेरोमा परेको छ । यो बेला अभिभावको भूमिका खेल्नुपर्ने संघमा विवाद लम्बिदै गएपछि बहुउद्देश्यीय सहकारीका मुद्दा ओझेलमा पर्न थालेको छ ।
बहुउद्देश्यीय केन्द्रीय संघमा विवाद नयाँ नेतृत्वको विषयबाट सुरु भएको थियो । संघका अध्यक्ष सुरेन्द्र भण्डारीले पुनः नेतृत्व गर्ने तयारी गरेपछि सचिव तिमल्सिनाले पनि अध्यक्षमा दावीदारी पेश गरे । साधारणसभाको तयारी पूर्व संघको सदस्यता प्रदान गर्नेलगायतका १० वटा विषयहरुमा छलफल गर्न पौष १९ गते बैठक बोलाइएको थियो । उक्त बैठकमा नयाँ सदस्यताको लागि २८ वटा सहकारीको प्रस्ताव पेश गरिएको थियो । सोही विषयमा सञ्चालक समितिले आपत्ती जनाएपछि सुरु भएको विवाद लम्बिदै गएको छ ।
साधारणसभाका विषयमा एक पछि अर्को मुद्दाका कारण साधारणसभाको मिति तय हुन सकेको छैन भने सहमतिका लागि सहकारी विभाग र राष्ट्रिय सहकारी महासंघले गरेको प्रयास पनि सफल हुन सकेको छैन ।
पछिल्लो पटक सचिव तिमल्सिना समूहले सञ्चालक समितिको कोरम पुर्याएर बैठक बसी वैशाख ६ गते साधारणसभा बोलाएका थिए । तर, अध्यक्ष भण्डारीले उपाध्यक्ष नारायणभक्त श्रेष्ठको अध्यक्षतामा बसेको बैठक अवैधानिक भन्दै अदालतमा मुद्दा दायर गरेपछि साधारणभा हुन सकेन । वैशाख ६ गते तय भएको निर्वाचन तालिका रोकिपाउँ भन्दै व्यवस्थापक श्रेष्ठले उजुरी हालेकी थिइन् । अदालतले अझै छलफलका लागि बोलाएको छैन ।
त्यसभन्दा अघि पनि पुस २९ गतेका लागि तय भएको साधारणभा अदालतको आदेशबाटै रोकिएको थियो । कोभिड महामारी र निषेधाज्ञाको कारण देखाउँदै भण्डारीले व्यवस्थापक श्रेष्ठलाई नै उजुरी हाल्न लगाएका थिए । पहिला दिइएको उजुरीको पनि पूर्णपाठ आइनसकेको व्यवस्थापक श्रेष्ठले बताइन् ।
सहकारी विभागले संघको विवाद मिलाउन पहल गरेपनि सार्थकता पाउन सकेको छैन । विभागले कानुन अनुसार निर्वाचन गर्न पत्राचार गरेपनि भण्डारीले अटेर गरिरहेका छन् । विभागले राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलको रोहबरमा अध्यक्ष भण्डारी र सचिव तिमिल्सिनालाई बोलाए पनि उक्त बैठकमा भण्डारी गएनन् ।
भण्डारी नगएपछि छलफल हुन नसकेको सचिव तिमिल्सिनाले बताए । अब स्थानीय तहको निर्वाचन पछि मात्रै संघको विवादबारे थप छलफल हुने उनले जानकारी दिए । यसबीचमा संघका उपाध्यक्ष श्रेष्ठले राजीनामा दिइसकेका छन् । उनको राजीनामा स्वीकृति भइसकेको ब्यवस्थापक श्रेष्ठले बताइन् ।
यसैबिच सहकारी विभागमा अध्यक्ष भण्डारीका विरुद्ध उजुरी परेको छ । संघका अध्यक्ष भण्डारी र संचालन हजुरी विष्ट एउटै संस्था श्री लालीगुराँग बहुउद्देश्यीय सहकारीका संचालक हुन । एउटै संस्थाका दुइजना संचालकले केन्द्रीय संघमा पनि संचालक भएको भन्दै कारवाहीको माग गरिएको छ । यस विषयमा कुरा गर्न खोज्दा अध्यक्ष भण्डारी भने सम्पर्कमा आएनन् ।
सरकारी कर्मचारी रहेका श्रेष्ठले सहकारी नियमावली २०७५ को प्रावधान अनुसार राजीनामा दिएका हुन् । सचिव तिमिल्सिनाले अध्यक्ष भण्डारीले दवाव दिएका कारण उपाध्यक्ष श्रेष्ठले पदबाट राजीनामा दिनुपरेको दावी गरे । व्यवस्थापक श्रेष्ठले कानुन अनुसार साधारणसभा गराउन चाहेपनि वातावरण नबनेको बताइन् ।
विभागसँग समन्वय भइरहेको दावी गर्दै श्रेष्ठले भनिन्,‘अदालती प्रक्रिया बाँकी नै रहेकाले विभागले तत्काल केही गर्न सक्ने स्थिति छैन ।’ श्रेष्ठले स्थानीय तहको चुनाव नजिकिएकाले अहिले वार्ता बस्ने माहोल नभएको बताइन । ‘निकास दिनका लागि अध्यक्षले वातावरण बनाउनुपर्ने तर, त्यस्तो देखिदैन’ उनले भनिन्, ‘हामीले त जो आए पनि कानुन अनुसार निर्वाचन गर्न खोजेका हौं ।’
अध्यक्ष भण्डारीले आफ्नै मातहतमा चलाउने, चुनाव नभएपनि केही फरक पर्दैन भन्ने सोचका साथ अघि बढेको तिमिल्सिनाले आरोप लगाए । विभागको निर्देशन अनुसार नै अघि बढ्दा विवाद मिलाउन सजिलो हुने भन्दै तिमिल्सिनाले भने, ‘सामान्य केस पनि हामीले मिलाउन नसक्ने हो प्रारम्भीक सहकारीमा कसरी फेस गर्ने ?’
यसैबिच सहकारी विभागमा अध्यक्ष भण्डारीका विरुद्ध उजुरी परेको छ । संघका अध्यक्ष भण्डारी र संचालन हजुरी विष्ट एउटै संस्था श्री लालीगुराँग बहुउद्देश्यीय सहकारीका संचालक हुन । एउटै संस्थाका दुइजना संचालकले केन्द्रीय संघमा पनि संचालक भएको भन्दै कारवाहीको माग गरिएको छ । यस विषयमा कुरा गर्न खोज्दा अध्यक्ष भण्डारी भने सम्पर्कमा आएनन् ।
Leave a comment