काठमाडौं । सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रले सहकारी संस्थाहरुले प्रयोग गरेका असल अभ्यासहरूका बारेमा अध्ययन थालेको छ । सहकारी संचालनका क्रममा प्रयोगमा आएका अनुकरणीय कामहरुलाई दस्तावेज गर्ने उद्देश्य सहित केन्द्रले अध्ययन सुरु गरेको हो । केन्द्रले एक दर्जन विषयमा सहकारी संस्थाहरुले गरेको अनुकरणीय कामका विषयमा अध्ययन गर्न लागेको हो ।
सार्वजनिक सूचना जारी गरी केन्द्रले सहकारीका सिद्धान्तको पालना, सुशासन र आन्तरिक नियन्त्रण, युवा सहभागिता, सम्पति शुद्धिकरण निवारणका प्रयास, सदस्यको शसक्तिकरणमा योगदान, सूचना प्रविधि प्रयोगमा भएका नविन तथा अनुकरणीय कामको विवरण पठाउन अनुरोध गरेको छ ।
यसैगरी सहकारी संचालनका पक्ष, एकीकृत सहकारी सेवा, स्वाबलम्बन र पारस्पारिकताको अभ्यासलगायतका विषयमा समेत संस्थाहरुले विवरण पठाउन सक्नेछन् । विवरण पठाउने संस्थाले आधिकारिक पत्रसहित अनुकरणीय कामको फोटो र भिडियो क्लिप, संस्थाको विनियमन र वार्षिक प्रतिवेदन, साधारणसभाको निर्णय तथा कोपोमिसमा आवद्ध भए/ नभएको विषयमा समेत खुलाउनुपर्नेछ । केन्द्रमा उपलब्ध हुने प्रस्तावहरुमध्ये उत्कृष्टलाई अन्तर्राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा पुरस्कृत गर्ने केन्द्रले जनाएको छ ।

Leave a comment