काठमाडौं । सहकारीले उद्यमी बन्न सघाएको पाइएको छ । राष्ट्रिय सहकारी महासंघ र काठमाडौं विश्वविद्यालयले गरेको अध्ययनले सहकारीले नयाँ उद्यमी बनाउन मद्धत पुर्याउनुका साथै देखिएको हो । अध्ययन प्रतिवेदन अनुसार सहकारीमा आवद्ध भएपछि लुम्बिनीका ६२ प्रतिशत र कर्णालीका ५७ प्रतिशत सदस्यले नयाँ व्यवसाय सुरु गरेको देखिएको छ । काठमाडौं विश्वविद्यालयको उद्यमशिलता तथा बजारीकरण प्रमुख प्रा डा विनोदकृष्ण श्रेष्ठलेसहकारीले सदस्यलाई उद्यमी तथा व्यवसायी बन्न सघाएको बताए ।
सहकारीले रोजगारीका नयाँ अवसर सिर्जना गरेको, उद्यमशीलताको दक्षता अभिबृद्धिमा सहयोग पुर्याउनुका साथै आर्थिक स्वतन्त्रता प्रदान गरेको अध्ययनले देखाएको छ । कर्णाली प्रदेशका सहकारीले ८६ प्रतिशत सदस्यको अपेक्षा पूरा गरेका छन् । सहकारीबाट पुरुषभन्दा महिला बढी खुसी देखिएको उल्लेख गरिएको छ ।
प्रारम्भिक प्रतिवेदनका अनुसार कर्णाली र लुम्बिनीका ७० प्रतिशत सदस्यहरु बचतका लागि सहकारीमा प्रवेश गरेका छन् । १५ प्रतिशतले वित्तीय सेवाका लागि र अन्य १५ प्रतिशतले ऋणका लागि सहकारीमा प्रवेश गरेको पाइएको छ ।
कर्णालीमा ३५ प्रतिशत र लुम्बिनीमा ३६ प्रतिशत सदस्य स्वइच्छाले सहकारीको सदस्य भएको पाइएको छ । सहकारीले बचत गर्ने बानीको विकास, नयाँ व्यवसाय स्थापना गर्न सहयोग, निर्णय क्षमतामा अभिबृद्धि गरेको अध्ययनले देखाएको छ ।
न्यून गरिवसँग सहकारी विस्तार हुनुपर्ने, सहकारीलाई सामाजिक कार्य र अन्य व्यवसायमा सहज रुपमा प्रवेश दिनुपर्ने, सहकारी शिक्षा बृद्धि गर्नुपर्ने, जोखिम व्यवस्थापन गर्नुपर्ने सुझाव दिइएको छ । राष्ट्रिय सहकारी महासंघका सञ्चालकहरुले अध्ययनबाट महत्वपूर्ण खोज भएको र यसले सहकारी अभियानको छवि निर्माणमा योगदान पुग्ने बताएका छन् ।
महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले अध्ययनको विषयमा जानकारी गराउँदै थोरै बजेटमा महत्वपूर्ण अध्ययन गर्न सफल भएको बताइन् । राष्ट्रिय सहकारी महासंघले काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टको सहयोगमा कर्णाली र लुुम्बिनी प्रदेशमा गरिवी न्यूनिकरणमा सहकारीको योगदानको विषयमा गरेको अध्ययनको प्रारम्भिक प्रतिवेदनले सो तथ्य सार्वजनिक गरेको हो । यस अघि महासंघले प्रदेश १ र मधेश प्रदेशमा सहकारीले गरिवी न्यूनिकरणमा गरेको योगदानको विषयमा अध्ययन गरेको थियो ।
Leave a comment