ग्रामीण क्षेत्रका सहकारीमा पनि तरलता अभाव 

ग्रामीण क्षेत्रका सहकारीमा पनि तरलता अभाव  :: Sahakari Akhabar

काठमाडौं । बैंक तथा वित्तीय सस्थाहरुमा देखिएको तरलताको संकट गहिरिदै गएपछि यसको प्रभाव ग्रामीण क्षेत्रका सहकारी संस्थाहरुमा पनि पर्न थालेको छ । सहरी क्षेत्रका सहकारीहरुमा देखिएको तरलता अभाव विस्तारै ग्रामीण क्षेत्रमा समुदाय स्तरमा रहेका संस्थाहरुमा पनि देखिन थालेको हो ।

‘विगतमा सहकारीको समस्या भन्ने वित्तीकै सहरी क्षेत्रमा मात्र देखिन्थ्यो’ वागमती प्रदेशका रजिष्ट्रार नारायण प्रसाद ज्ञवालीले भने, ‘अहिले त ग्रामीण क्षेत्रमा समुदायभित्र सिमित रहेका संस्थामा पनि तरलताको अभाव देखिएको छ ।’ 

चालु आर्थिक सुरुदेखि नै बैंकहरुको अत्याधिक कर्जा आयातमा लगानी भएपछि बैंकहरुमा तरलता अभाव देखिन थालेको छ । यसैगरी रेमिट्यान्स आप्रवाह समेत कम भएकाले बजारमा तरलतामा थप दवाव बढेको हो । 
तरलता अभाव भएपछि गत महिनायता बैंकहरुको कर्जा लगानी ठप्प प्रायः छ । बैंकहरुले कर्जा प्रवाह नगरेपछि बजारमा नगद प्रवाह नै कम हुने र सहकारीमा बचत संकलन प्रभावित भएको सहकारीकर्मीहरुको अनुमान छ ।

तरलता अभाव भएपछि नवलपरासीको विकु सहकारी संस्थाले समेत निक्षेप महोत्सवको नाम दिएर बचत संकलनमा जोड दिएको छ । तरलताको अभाव बढेसँगै नियामक निकायमा पनि बचत फिर्ता नपाएको भन्दै आउने उजुरी बढेका छन् ।

‘सहकारीले बचत फिर्ता दिएन भनेर दैनिक ५/७ वटा सहकारीहरुको उजुरी आउन थालेको छ ।’ तरलता अभाव भएको भन्दै सहकारीहरुले ब्याजदर वृद्धि गरेपनि त्यसको तुलनामा निक्षेप बढ्न सकेको छैन । सहकारी बैंक तथा संघहरुमै पनि निक्षेप घटिरहेको छ ।



Leave a comment