बिकुमा ‘निक्षेप महोत्सव’ : संकट टार्न गलत प्राक्टिस 

बिकुमा ‘निक्षेप महोत्सव’ : संकट टार्न गलत प्राक्टिस  :: Sahakari Akhabar

काठमाडौं । सहकारीमा तरलताको संकट बढ्दै गएपछि संस्थाहरुबिच जसरी पनि निक्षेप बढाउने होडबाजी चल्न थालेको छ । निक्षेप बढाउने दवाबमा रहेका सहकारीहरुले बढि ब्याजदर र नियम विपरित विभिन्न प्रलोभन दिएर भएपनि निक्षेप आकर्षित गर्न थालेका हुन् ।

बिगतमा सहरी क्षेत्रका सहकारीहरुमा मात्र यस्तो प्रवृत्ती रहेकोमा विस्तारै ग्रामीण क्षेत्रमा समूदायमा आधारित रही संचालित सहकारीहरुले पनि यो सिको गर्न थालेका पाइएको छ । तरलता अभाव बढ्दै गएपछि विकू बचत तथा ऋण सहकारी संस्थाले निक्षेप महोत्सव सुरु गरेको छ ।

नवलपरासीस्थीत विकु देशकै उत्कृष्ट संस्थाको रुपमा गनिन्छ । विभिन्न संघसंस्थाबाट पुरस्कृत तथा एसियाली क्रेडिट युनियन (अक्कु) बाट एक्सेस ब्राण्ड समेत पाएको छ । तरलता संकट बढेपछि विकुले नियम विपरित भएपनि निक्षेप संकलन गर्ने योजना सार्वजनिक गरेको हो । सहकारीको मर्म नै सदस्यबाट नियमीत बचत संकलन गर्ने भएकाले ‘निक्षेप महोत्सव’ को योजना गलत भएको विज्ञहरु बताउँछन् ।

सहकारी संस्थाले निक्षेप शव्दको प्रयोग गर्नु नै राम्रो मानिदैन, त्यसमाथी विभिन्न उपहारको प्रलोभन सहित निक्षेप महोत्सव भनेर प्रचार प्रसार सहित सर्वसाधारणलाई आकर्षित गर्नु गलत हो । एकातिर कर्जाको माग अत्याधिक बढ्दै जानु, अर्कोतिर जम्मा भएको निक्षेप पनि घट्दै जानुका साथै बैंक तथा वित्तीय संस्थाले लगानी नगरेपछि विकूले निक्षेप संकलन गर्न महोत्सव ल्याएको हो ।

बिकुले सदस्यलाई ऋण प्रवाह गरिरहे पनि  माग सम्बोधन गर्न पर्याप्त पैसा नभएकाले निक्षेप महोत्सव आयोजना गरिएको प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए । तरलता अभाव बढ्दै गएपछि बैंक, तथा वित्तीय संस्थाले गत साउनदेखि कर्जा प्रवाहमा कडाइ गर्दै आएका छन् । बैंकहरुले ऋण प्रवाहमा रोक लगाएपछि त्यसको असर सहकारीहरुमा पनि परेको छ ।

वर्तमान आर्थिक अवस्थाको मध्यनजर गर्दै विकुले थप आर्थिक संकट आउन नदिन निक्षेप महोत्सव अभियान सुरु गरिएको प्रमुख कार्यकारी अधिकृत पौडेलले जानकरी दिए । बिकुले महोत्सवबाट १५ करोड निक्षेप संकलन हुने अपेक्षा  गरेको छ ।

निक्षेपकर्तालाई साढे १२ प्रतिशतसम्म ब्याज दिदैँ आएको महोत्सवमा थप १ प्रतिशत बढी ब्याज दिइने पौडेलले बताए । संस्थाले निक्षेप राख्न सक्ने संभावित सदस्यलाई सम्पर्क गरेर महोत्सवमा बोलाउने छ । महोत्सवमा जाने सबै सदस्यलाई मायाको चिनो, चकलेट दिएर स्वागत गरिने पौडेल बताउँछन् ।

बिकुले आज वैशाख १५ गते देखि ३१ गतेसम्म निक्षेप महोत्सव राखेको छ । उक्त समममा बढी निक्षेप जम्मा गर्ने सदस्यलाई सम्मान पनि गरिने पौडेलले बताए । हाल संस्थामा १ लाख १० हजार सदस्य छन् । संस्थाको कारोबार ९ अर्ब रुपैयाँ रहेको छ ।



Leave a comment