काठमाडौँ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि सहकारी सङ्घसंस्थामा नेतृत्व गरिरहेका सहकारकर्मीले उम्मेदवारी दर्ता गरेका छन् । सहकारी आन्दोलनमार्फत नेतृत्व विकास गर्दै पहुँच बढाएका सहकारी नेताहरूले राजनीतिक पार्टीको टिकट लिएर जनप्रतिनिधिका लागि उम्मेदवारी दिएका हुन् ।
सहकारी आन्दोलनको छाता निकाय राष्ट्रिय सहकारी महासङ्घदेखि सहकारी बैङ्क, नेपाल बचत तथा ऋण केन्द्रीय सङ्घ (नेफ्स्कून) सहित विभिन्न तहका सङ्घहरूको नेतृत्व गरेका सहकारीकर्मीहरुले उम्मेदवारी दिएका छन्। सहकारी विकास बोर्डदेखि प्रारम्भिक सहकारी संस्थासम्मका नेताहरूले विभिन्न राजनीतिक पार्टीको प्रतिनिधिका रूपमा मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्षका साथै वडाहरूमा समेत दावे दारी पेस गरेका छन् ।
सहकारी महासङ्घका सञ्चालक रामकृष्ण खाँड तिलोत्तमा नगरपालिकामा मेयरका उम्मेदवार बनेका छन् । खाँड नेपाली काँग्रेसको कोटामा महासङ्घमा सञ्चालक बनेका थिए । अहिले नेपाली काङ्ग्रेसबाटै टिकट लिएर मेयरमा उम्मेदवारी दिएका हुन् । यसै गरी महासङ्घकै अर्का सञ्चालक लक्ष्मीप्रसाद शर्मा बर्दीयाको मधु वन नगरपालिकाको मेयरका उम्मेदवार हुन् ।
राष्ट्रिय सहकारी बैङ्ककी सञ्चालक सरिता भट्टराई भक्तपुरको सूर्य विनायक नगरपालिकाको उपमेयरको उम्मेदवार बनेकी छन् । भट्टराई लाई नेकपा एमालेले उपमेयरको लागि टिकट दिएको हो । भट्टराईले सहकारी क्षेत्रमा लागेका उम्मेदवारलाई अरूको तुलनामा निर्वाचनमा जित्न सहज हुने दाबी गरिन् । पार्टीका साथै सहकारकर्मीको भोट आउने भएकाले सहकारी कर्मी उम्मेदवारलाई थप सहज हुने उनको भनाई छ ।
यसै गरी राष्ट्रिय सहकारी सहकारी विकास बोर्डका सञ्चालक शम्भु खड्का सप्तरीको त्रियुगा नगरपालिकाको मेयर उम्मेदवार बनेका छन् । नेफ्स्कूनका सञ्चालक यज्ञराज ढकाल सुर्खेतको भेरीगंगा नगरपालिकाका मेयरमा र सञ्चालक जनक खत्री भक्तपुरको चाँगुनारायण वडाध्यक्षमा उम्मेदवार बनेका छन् ।
नेफ्स्कूनको लेखा समितिको पूर्व सदस्य एवम् दाङको सौभाग्य महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष हुमाकुमारी डिसी एमालेबाट घोराही उपमहानगरपालिकाको उम मेयरमा उम्मेदवार बनेकी छन् ।पर्यटन सहकारी केन्द्रीय सङ्घका उपाध्यक्ष शिवकुमार कट्टेल ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयर उम्मेदवार छन् ।
कृषि सहकारी सङ्घ ललितपुरका सचिव पुरुषोत्तम हुमागाईँ ललितपुरकै महाकाल गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनेका छन् । यसै गरी स्थानीय स्तरमा प्रारम्भिक सहकारीका नेतृत्वकर्ताहरू पनि गाउँपालिका तथा नगरपालिकामा उम्मेदवार बनेका छन् ।
एकता सहकारीका अध्यक्ष भोला अधिकारी कानेपोखरी गाउँपालिकाको उपप्रमुखमा, म्याग्दी जिल्ला सङ्घका अध्यक्ष प्रेमबहादुर कार्की म्याग्दीको रगुगंगा गाउँपालिकाका अध्यक्षमा उम्मेदवार दिएका छन् ।
इमेज बचत तथा तथा ऋणको संस्थाको अध्यक्ष देवकुमार नेपाली ढोरपाटन नगरपालिकाका मेयरमा, कास्कुनका सञ्चालक पुरुषोत्तम नेपालले बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १२ को वडाध्यक्षका उम्मेदवारी दिएका छन् । स्थानीय तहको चुनावमा टिकट प्राप्तिका लागि दर्जनौँ सहकारकर्मीले दौडधुप गरेका थिए । दर्जनौँ आकाङ्क्षी भए पनि थोरैले मात्र टिकट पाएका छन् ।
Leave a comment