काठमाडौं । नेकपा माओवादी केन्द्रको कोटाबाट राष्ट्रिय सहकारी महासंघको लेखा समिति संयोजकमा निर्वाचित भएका धर्मदत्त देवकोटाले पार्टी परिवर्तन गरेका छन् । माओवादीमा सहकारी विभाग प्रमुख समेत रहेका उनी नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
माओवादी पार्टीमा अवसर नपाएपछि उनी एमालेमा प्रवेश गरेका हुन् । उनलाई सहकारी महासंघको गत चुनावमा अध्यक्षको प्रतिस्पर्धीका रुपमा समेत हेरिएको थियो । तर, पार्टीगत भागवण्डाका कारण उनले लेखा संयोजकमै चित्त बुझाएका हुन् ।
महासंघको आगामी अध्यक्षका लागि दावेदारी सहित पार्टी परिवर्तन गरेको चर्चा सहकारी वृत्तमा छ ।
माओवादी सथर्मक सहकारीकर्मीले भने देवकोटाले धोका दिएको प्रतिक्रिया दिएका छन् ।
देवकोटाले भने अवसरको कारण नभई नीतिगत असन्तुष्टिले पार्टी छोेडेको प्रतिक्रिया दिए । माओवादीमा नीतिगत स्थायित्व नभएको, देशलाई कस्तो बनाउने प्रष्ट दृष्टिकोण नभएको, प्रचण्डले आफू तथा नातेदार केन्द्रीत राजनीति गरेकाले चित्त नबुझेको उनले सहकारी अखवारलाई प्रतिक्रिया दिए । ‘एमसिसीमा प्रचण्डको दोहोरो चरित्र देखाएको, राष्ट्रिय उद्योग बेचिखाने कांग्रेसलाई सघाएका कारण पार्टी परित्याग गर्ने निर्णयमा पुगेको हुँ’ उनले भने, ‘तुलनात्मक रुपमा एमालेमा स्पष्ट दृष्टिकोण भएकाले पार्टी प्रवेश गरेको हो ।’
माओवादी सथर्मक सहकारीकर्मीले भने देवकोटाले धोका दिएको प्रतिक्रिया दिएका छन् । देवकोटाले पार्टी छोडेपछि माओवादी नेता एवम् पशुपन्छी, मत्स्यपालन केन्द्रिय सहकारी संघका अध्यक्ष बाबुराम अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा ब्यंग्य गरेका छन् । ‘कामरेडले १२ बर्षको काज यता आएर गुजार्नुभो, उतैको निर्देशनमा यता भाँडभैलो मचाएर लथालिङग पारीदिनुभो, अनि पूरानो दरबन्दी तिर नै फिर्नुभो’ अधिकारीले फेसबुकमा लेखेका छन् ।
देवकोटा माओवादीका पोलिटब्यूरो सदस्य समेत थिए । काठमाडौं क्षेत्र नं ४ मा माओवादीको प्रभावशाली नेता मानिएका देवकोटा स्थानीय तहको निर्वाचनको संघारमा एमाले प्रवेश गरेका हुन् ।
बुढानिलकण्ठ नगरपालिका-८ निवासी देवकोटा २०७४ सालको संघीय निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ को बाम गठबन्धनका चुनावी कमान्डर सम्हालेका थिए ।
Leave a comment