नियम विपरित जग्गा कारोबार गर्दै पशुपति सहकारी, मुकदर्शक बन्दै विभाग  

नियम विपरित जग्गा कारोबार गर्दै पशुपति सहकारी, मुकदर्शक बन्दै विभाग   :: Sahakari Akhabar

काठमाडौं । दुई वर्षयता सदस्यहरुलाई बचत फिर्ता गर्न नसकेको पशुपति बचत तथा ऋण सहकारी संस्था जग्गाको कारोबारमा सक्रिय भएको छ । बचत तथा ऋण कारोबार गर्ने सहकारीले जग्गा प्लटिङको काम गर्न नपाउने भएपनि संस्थाले सोमबार एक राष्ट्रिय दैनिक पत्रिकामा घडेरीका लागि बुकिङ खुल्ला भएको भन्दै विज्ञापन गरेको छ ।

संस्थाका अध्यक्ष सिवी लामाले सदस्यहरुको बचत रकम घरजग्गा कारोबारमा लगानी गरेपछि संस्थाले सदस्यहरुलाई बचत फिर्ता दिन सकेको छैन । संस्थाले बचत फिर्ता माग्न सदस्यहरुलाई जग्गा किन्न बाध्य बनाउदै आएको छ । संस्थाले बचत फिर्ता नगरेको भन्दै संघिय सहकारी विभागमा परेको उजुरीमा पनि अध्यक्ष लामाले जग्गा बिक्री गरेर बचतकर्तालाई रकम फिर्ता गर्ने प्रतिवद्धता गरेका थिए । संस्थाले भने चितवनको मेघौलीमा तीन सय वटा घडेरीका लागि बुकिङ खुलाएको छ । सूचनामा ११ प्रतिशत ब्याजदरमा ७२ महिने किस्ताबन्दीमा २० लाख रुपैयाँसम्म लगानी गर्ने उल्लेख गरिएको छ ।

सहकारीहरु खुलेआम जग्गा प्लटिङमा सक्रिय भएपनि नियामक निकाय सहकारी विभागले कुनै कारवाही गर्न सकेको छैन । सहकारीले नियम विपरित काम गरेपनि सहकारी विभागले कुनै कारवाही गर्न सकेको छैन । संस्थाले सोमबार सूचना जारी गरेपछि पनि विभागले स्पष्टिकरण मात्र सोधेको छ । विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले संस्थाको सूचनापछि स्पष्टिकरण सोधिएको र कारवाही अघि बढाउने दावी गर्छन्  ।  ‘संस्थाले के आधारमा जग्गा कारोबार गर्यो भनेर स्पष्टिकरण सोधेका छौं ।’ उनले भने, ‘चितबुझ्दो जवाफ दिन नसके कारवाही गछौं ।’

सहकारी संस्थाका अध्यक्ष लामाले भने संस्थाको लगानी रहेको जग्गा बिक्री गरेर समस्या समाधान गर्न लागिएको दावी गरे । सहकारीमा तरलता समस्याको कारोबार बचत फिर्ता गर्न नसकिएको र त्यसको समाधानका लागि सदस्यहरुलाई बचतको सट्टा जग्गा दिन लागिएको पनि उनले दावी गरे ।
 



Leave a comment