काठमाडौं । समस्याग्रस्त घोषित लुनिभा बचत तथा ऋण सहकारी संस्था र सोसाइटल बचत तथा ऋण सहकारी संस्था अदालत पुगेका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिविरुद्ध लुनिभा र सोसाइटलका सञ्चालक उच्च अदालत पाटन तथा सर्वोच्च अदालतमा उजुरी हालेका हुन् । समितिविरुद्ध मुद्धा परेको समितिका सदस्य सचिव केशव पौडेलले बताए ।
समितिले ती संस्थाका सञ्चालकसँग छलफल गरी समस्या समाधान गर्ने तयारी गरिरहेको थियो । ऋण तिर्न ताकेता गर्ने, तिर्न अटेर गरेमा उनीहरुको सम्पत्ति रोक्का गर्ने गरिएको पौडेलले जानकारी दिए । ‘सञ्चालकहरुको चल, अचल सम्पत्ति पत्ता लगाएर रोक्का गर्ने काम गरेका छौं’ उनले भने ।
समितिले ऋणीबाट ऋण उठाउन ताकेता गरिरहेको छ । तर, धेरैले ऋण तिर्न आनाकानी गर्ने गरेको पौडेल बताउँछन् । लुनिभाको ५२ लाख रकम छिट्टै बाँड्ने तयारी समितिको छ । समितिले साना निक्षेपकर्तालाई यसअघि पनि रकम विरतण गरेको थियो ।
समितिमा एक जनाबाहेक अन्य पदाधिकारी भर्खरै मात्र प्रवेश गरेका छन् । समितिको नवनियुक्त पदाधिकारीले पूरानै काममा निरन्तरता दिने बताउँदै आएका छन् । समस्याग्रस्त सहकारीको बदमासी पत्ता लगाउने, सम्पत्ति रोक्का राख्ने काम गर्ने समितिका नवनियुक्त सदस्य डीबी बस्नेतले बताए । ‘बाँकी काम पूरा गर्न हामी प्रभावकारी ढंगले लाग्ने छौं’ उनले भने ।
ऋण तथा सञ्चालकको दायित्व चुक्ता गर्न लगाउने र अटेर गरे कानुनी प्रक्रिया गरेरै अघि बढ्ने सदस्य बस्नेतले बताए । गौरीबहादुर कार्की आयोगले १ सय ३२ संस्थालाई समस्याग्रस्त भन्दै सरकारलाई प्रतिवेदन बुझाएको थियो । त्यसमध्ये ११ वटा सहकारी समस्याग्रस्त घोषित भएका छन् । समस्याग्र्रस्त घोषित भएको ओरेण्टल सहकारी भने सर्वोच्चको आदेशपछि समितिले हेर्न पाएको छैन ।
सर्वोच्चले ओरेण्टल तथा त्यसका अध्यक्ष सुधीर बस्नेतको पक्षमा फैसला गरेपछि समितिले ओरेण्टल सहकारीको प्रक्रिया रोक्न वाध्य भएको थियो । समितिले विभागमा फाइल तथा उठेको २ करोड रकम हस्तान्तरण गर्ने निर्णय गरेपनि अलपत्र अवस्थामा छ । ओरेण्टलले निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न सकेको छैन । पछिल्लो समयमा भने भक्तपुरको गुण्दुकको जग्गा निक्षेपकर्तालाई दिने सूचना जारी गरेको छ ।
यो पनि पढ्नुहोस्
सोसाइटल र लुनिभाका बचतकर्ताले बैंक खाताबाटै निक्षेप फिर्ता पाउने
Leave a comment