हाइलाइट

अडिटरको सूचिकरण गर्दै विभाग, अनुगमन र लेखापरिक्षणका लागि परिचालन गर्ने 

अडिटरको सूचिकरण गर्दै विभाग, अनुगमन र लेखापरिक्षणका लागि परिचालन गर्ने  :: Sahakari Akhabar


काठमाडौं । सहकारी संस्थाहरुको अनुगमन र लेखापरिक्षण गराउनका लागि सहकारी विभागले लेखापरिक्षकको सूचिकरण प्रक्रिया अघि बढाएको छ । विभागले सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका लेखापरिक्षकलाई सूचिकृत हुन आवहान गरेको हो । सूचिकरणका लागि बैशाख २२ गतेसम्मको समय दिइएको छ । विभागले जारी गरेको कार्यविधि अनुसार कम्तीमा तिन वर्ष अनुभव भएका लेखापरिक्षकहरुले सूचिकृत हुन पाउनेछन् ।

सूचिकृत लेखापरिक्षकलाई लेखापरिक्षण नगरेका संस्थाहरुको लेखापरिक्षण गर्न तथा अनुगमनका लागि परिचालन गर्ने योजना रहेको विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले जानकारी दिए । ‘विभागले लेखाव्यवसायीलाई सूचिकृत हुनका लागि आवहान गरेको छ’ उनले भने, संस्थाको लेखापरिक्षण गर्न र अनुगमन गर्न उहाँहरुलाई परिचालन गछौं ।’

सहकारी ऐन–२०७४ मा सहकारी संस्थाहरुले तोकिएको समयमा लेखापरिक्षण नगरेको पाइएमा रजिष्ट्रार वा अधिकारी प्राप्त व्यक्तिले त्यस्ता संस्थाको लेखापरिक्षण लेखापरिक्षकबाट गराउन सक्ने प्रावधान रहेको छ । विभागले अनुगमन गर्दा कतिपय संस्थाहरुको लामो समयसम्म पनि लेखापरिक्षण नभएको भेटिएको र त्यस्ता संस्थाहरुको लेखापरिक्षण गर्नका लागि सूचि तयार गर्न लागिएको विभागले जनाएको छ ।

सहकारी संस्थाहरुले आर्थिक वर्ष सम्पन्न भएको तीन महिनाभित्र लेखापरिक्षण गर्नुपर्ने व्यवस्था ऐनमा गरिएको छ । विभागले समस्या देखिएका संस्थाहरुको अनुगमनका लागि समेत सूचिकृत लेखापरिक्षकलाई परिचालन गर्ने तयारी गरेको छ । विभागसँग पर्याप्त जनशक्ति नहुँदा सहकारीको अनुगमन प्रभावकारी हुन सकेको छैन ।



Leave a comment