हाइलाइट

महासंघ - नेफ्स्कून बिवाद सामाजिक सञ्जालमै छताछुल्ल 

महासंघ - नेफ्स्कून बिवाद सामाजिक सञ्जालमै छताछुल्ल  :: Sahakari Akhabar

काठमाडौं । सहकारी अभियानको दुई केन्द्रीय निकाय राष्ट्रिय सहकारी महासंघ र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) बिचको बिवाद सामाजिक संजालमै देखिन थालेको छ । महासंघले विषयगत केन्द्रीय सहकारी संघलाई बेवास्ता गरी बिषय बाझिने गरी कार्यक्रम गर्न थालेपछि केन्द्रीय संघहरुले विरोध गर्न थालेका हुन् । यसको पछिल्लो उदाहरण महासंघले निर्माण गर्न लागेको ‘स्वनिमयन तथा सुशासन परिक्षण पुस्तिका’ बारेको विषयमा देखिएको छ ।

महासंघले वित्तिय तथा गैरबित्तिय सहकारी संस्थाहरूको स्वनियमन तथा सुशासनका मुलभूत सुचकांकहरूको निर्माण गरी सो अनुरूप सहकारी संघ÷संस्थाहरू संचालन भए/नभएको पहिचान गर्नका लागि ‘स्वनिमयन तथा सुशासन परिक्षण पुस्तिका’ को प्रारम्भिक मस्योैदामा बुधबार छलफल गरिएको सामाजिक संजाल फेसबुकमार्फत जानकारी दियो ।

महासंघको उक्त पोष्टमा नेफ्स्कून अध्यक्ष परितोष पौड्यालले प्रतिक्रिया दिदै आफुहरुले गरेको कामको बेवास्ता गरेको लक्षित गर्दै प्रतिक्रिया दिए -‘वित्तीय सहकारीको एकिकृत सुशासन तथा स्वनियमन मार्गदर्शन नेफ्स्कूनले धेरै मिहिनेत गरेर वनाएकै छ । कस्तुरी मृगले आफ्नो सुवास थाहा नपाएर भौतारिने जस्तै भएनर ?’ 

नेफ्स्कूनले बनाएको एकिकृत मार्गदर्शनलाई बेवास्ता गरी महांघले छुट्टै निर्देशिका बनाउन लागेको र यसमा नेफ्स्कूनसँग सहकार्य नगरेपछि अध्यक्ष पौड्यालले आपत्ति जनाएका हुन् । महासंघको फेसबुक पोष्टमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले पनि आफुले बनाएको मार्गदर्शको फोटो राख्दै सांकेतिक विरोध गरेका छन् ।

आफुले गरेका कार्यक्रमबारे उच्च तहबाटै विरोध हुँदा पनि महासंघले यसको जवाफ दिएको छैन । बरु सहकारीका तालिम संचालन गर्ने चन्द्रबहादुर ठकुरीले ‘बचत र ऋण मात्र सहकारी होइन । सबै कुरा थप्दा साकोसलाई नमिल्ने बन्ला कि अध्यक्ष ज्यु’ भन्ने कमेन्टमा महासंघकी महाप्रवन्धक चित्रा कुमारी थामसुहाङले लाईक गरेकी छन् ।

महासंघले फेसबुकमार्फत राष्ट्र बैंकवाट सेवा निवृत नरेन्द्र विष्टद्धारा परिक्षण पुस्तिका तयार गरिएको र यसमा महासंघका पदाधिकारी, संचालक, उच्च व्यवस्थापन तथा प्रदेश सहकारी संघ, राष्ट्रिय सहकारी बैंक तथा केन्द्रिय सहकारी संघका प्रतिनिधिहरूवीच मस्यौदामा छलफल भएको दावी गरेको छ ।

यो एक प्रतिनिधि घटना भएपनि सहकारी ऐन २०७४ का विषयदेखि नै महासंघ र नेफ्स्कूनबिच बिवाद हुदै आएको छ । महासंघले सबै सहकारीहरुले बचत तथा ऋणको कारोबार गर्न पाउनुपर्छ भनेर लविङ गरिरहँदा नेफ्स्कूनले भने मुख्य कारोबारको व्यवस्था लागू गर्न दवाब दिदै आएको छ ।

यसैगरी कर्जा सूचना केन्द्र, स्थिरीकरण कोषलगायतका प्रावधानमा पनि महासंघ र नेफ्स्कूनबिच बिवाद हुने गरेको छ । अर्कोतर्फ सहकारी महासंघ सबै सहकारीहरुको छाता संगठन भएपनि सबैलाई समेटेर लैजान नसकेको भन्दै आलोचना हुन थालेको छ । महासंघ पछिल्लो समय आम्दानी हुने काममा मात्र केन्द्रीत हुँदा सहकारीको नीतिगत लविङ कमजोर भएको आरोप लाग्दै आएको छ ।



Leave a comment