काठमाडौं । तरलता अभावसँगै सहकारी क्षेत्रमा होलसेल कर्जाकै ब्याजदर १४ प्रतिशत पुगेको छ । बजारमा तरलता अभाव भएसँगै सहकारी संस्थाबाट निक्षेप तान्नका लागि सहकारीका केन्द्रीय संघ र बैंकहरुबिच प्रतिस्पर्धाले ब्याजदर पनि महंगो भएको हो ।
सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकले बैंशाख ४ गतेदेखि लागू हुनेगरी प्रकाशित गरेको ब्याजदरमा कर्जाको ब्याज १४ प्रतिशतसम्म पु¥याएको छ । बैंकले तरलता व्यवस्थापन, चालु पुँजी, साना तथा मझौला सदस्य कर्जा, सवल सहकारी कर्जा शिर्षको बार्षिक ब्याजदर १४ प्रतिशत पुर्याएको हो । यसैगरी बैंकले मुद्दति निक्षेपको ब्याजदर पनि बढाएर १३.७५ प्रतिशत पुर्याएको छ ।
बैंकले ब्याजदर बढाएपछि बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नफ्सकून)ले पनि ब्याजदर वृद्धि गरेको छ । नेफ्स्कूनले कर्जाको अधिकतम ब्याजदर १३.५० प्रतिशत पुर्याएको प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले जानकारी दिए । सहकारी संस्थाले थोकमा कर्जा लिने संघ तथा बैंकहरुले नै ब्याजदर बढाएपछि प्रारम्भिक संस्थाहरुलाई अप्ठेरो परेको गुनासो गर्न थालेका छन् ।
बजारमा तरलता अभाव भएको भन्दै बैंक तथा वित्तीय संस्थाको ब्याज वृद्धि भएपनि सहकारीमा पनि ब्याज बढाउन सन्दर्भ ब्याजदर १६ प्रतिशत पुर्याएको छ । सन्दर्भ ब्याजदरपछि सहकारीहरुले निक्षेपको ब्याज बढाएपनि सहकारीमा बचत बढ्न सकेको छैन ।
सहकारी संस्थाहरुको दैनिक बचत संकलन प्रभावित भएपछि संघहरुको निक्षेप पनि घटिरहेको छ । जसको कारण सहकारीमा तरलता अभावको समस्या चर्किदै गएको छ । सहकारीले १०—१५ प्रतिशत तरलता राख्नपर्ने प्रावधान भएपनि अधिकांश सहकारीहरुले यो पुरा गर्न सकेका छैनन् ।
Leave a comment