काठमाडौै । सहकारी विभागको रजिष्ट्रारको विवादका कारण भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले जारी गर्ने भनेको भिजन पेपर ओझेलमा परेको छ ।
भिजन पेपर निर्माणमा लागेका तत्कालिन रजिष्ट्रार झलकराम अधिकारीको सरुवासँगै भिजन पेपर पनि अन्यौलमा परेको हो । अधिकारीले विभागमार्फत एकीकृत निर्देशन जारी गर्ने विषयमा विवाद भएपछि मन्त्री श्रेष्ठले उनको सरुवा गरेकी थिइन् । रजिष्ट्रारमा रुद्र प्रसाद पण्डित आएपछि भने भिजन पेपरको विषयमा कुनै काम नभएको विभाग स्रोतले बताएको छ ।
यसअघि रजिष्ट्रार अधिकारीले भने भिजन पेपरको मस्यौदा तयार भएको बताउने गरेका थिए । विभागले जारी गरेको त्रैमासिक प्रगति विवरणमा समेत भिजन पेपर तयार भएको उल्लेख गरिएको छ ।
गत माघमै आफ्नो एक सय दिनको उपलब्धी सार्वजनिक गरेकी मन्त्री श्रेष्ठले दिगो आर्थिक विकास गर्नेलगायतका कार्यक्रमहरु समेटेर भिजन पेपर अन्तिम चरणमा पुगेको उल्लेख गरेकी थिइन् । तर, हालसम्म भिजन पेपर सार्वजनिक गर्न सकेकी छैनन् ।
आफु उद्घाटन मन्त्रीमा सिमिति नहुने बताउने गरेकी उनी सहकारीका कार्यक्रममा कम मात्र उपस्थित हुने गरेकी छिन् । आफ्नो कार्यकालमा रिक्त रहेका सहकारी विकास बोर्ड र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पदपूर्ति गर्नबाहेक कुनै काम गर्न सकेकी छैनन् ।
Leave a comment