हाइलाइट

उत्पादनमूलक सहकारीलाई २० लाख अनुदान

उत्पादनमूलक सहकारीलाई २० लाख अनुदान :: Sahakari Akhabar

काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाले उत्पादनमूलक सहकारीलाई २० लाख रुपैयाँ अनुदान दिने भएको छ । उत्पादन र बजारीकरणमा टेवा पुर्याउन नगरपालिकाले यसै वर्षदेखि अनुदान दिन लागेको हो ।

नगरपालिकाको आर्थिक महाशाखा अन्र्तगतको सहकारी शाखा प्रमुख गीता ठगुन्नाले उत्पादनमूलक सहकारीलाई अनुदान दिन कार्यविधि तयार भइसकेको बताइन् । वस्तु उत्पादन गरी स्वरोजगार दिलाउन सक्ने जुनसुकै सहकारीले अनुदान पाउने छन् । त्यस्तै उपभोक्ता सहकारीलाई पनि अनुदान दिइने छ ।

उत्पादन तथा बजारीकरणमा संलग्न १० देखि १५ वटा सम्म सहकारीले  २० लाख रुपैयाँ अनुदान पाउने छन् । गत वर्ष उद्योग शाखाबाट केही उत्पादनमूलक सहकारीले अनुदान पाएका थिए । आर्थिक महाशाखा अन्र्तगत कृषि, उद्योग र सहकारी शाखा छन् ।

सेयरपुँजी राम्रो भएको, एकीकरणमा गएको सहकारीले अनुदानमा प्राथमिकता पाउँछन् । त्यस्ता सहकारीलाई कर छुट पनि दिइन्छ । बुढानिलकण्ठमा पछिल्लो समयमा ९ वटा सहकारी दर्ता भएका छन् । ७ वटा कृषि र २ वटा उपभोक्ता सहकारी दर्ता भएको नगरपालिकाले जनाएको छ ।

बुढानिलकण्ठमा ६८ वटा सहकारी सञ्चालनमा छन् । त्यसमध्ये ४७ वटा बचत तथा ऋण सहकारी संस्था हुन् । १२ वटा बहुउद्देश्यीय, ८ वटा कृषि र २ वटा उपभोक्ता सहकारी हुन् । शाखा प्रमुख ठगुन्नाले सहकारीको नियमन तथा अनुगमनमा विशेष ध्यान दिइरहेको बताइन् । सहकारीलाई प्रशिक्षण तथा तालिममा पनि प्राथमिकता दिने गरिएको छ ।

बुढानिलकण्ठमा ६८ वटा सहकारीमध्ये ३५ वटा सहकारीले साधारणसभाको  प्रतिवेदन बुझाएका छन् । यहाँ ९ वटा सहकारी बन्द छन् । नयाँ सन्देश सहकारी समस्याग्रस्त घोषित भई अहिले नयाँ सञ्चाललक समिति गठन भएको छ । सञ्चालक समिति र नगरपालिकाले समन्वय गरी समस्या सल्टाउन थालेका छन् । नगरपालिकाले सहकारीको प्रवद्र्धन, नियमन र प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

त्यसका लागि २५लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । गत वर्ष ४५ वटा सहकारीको अनुगमन गरिएको थियो । चालू आर्थिक वर्षको हालसम्म १२ वटा सहकारीको मात्रै नियमन भएको छ । असार मसान्तसम्म नियमन गर्ने नगरपालिकाको तयारी छ । पहिला सहकारी शाखामा ३ जना कर्मचारी रहेकोमा अहिले २ जनाले मात्रै काम गरिरहेका छन् ।



Leave a comment