काठमाडौं । सहकारीमा बचत गरेपछि सदस्यहरूले मागेको बेला संस्थाले ब्याजसहित बचत फिर्ता गर्नुपर्छ । यसैगरी सदस्यहरुले कारोबारका आधारमा व्यवसाय गर्न ऋण लिन्छन् भने संरक्षित पुँजी फिर्ता र सेयरका आधारमा लाभांस समेत पाउछन् । तर, पछिल्लो समय सहकारी संस्थाहरुले बचतको सट्टा जग्गा लिन सदस्यलाई बाध्य बनाउन गरेका छन् । संस्थाको बचतलाई जग्गा कारोबार र प्लटिङमा लगानी गरेका संस्थाहरुले जग्गा बिक्री नभएपछि सदस्यलाई नै बचतको सट्टामा जग्गा दिने प्रवृत्ती बढ्न थालेको हो ।
समस्याग्रस्त ओरेण्टल को–अपरेटिभले निक्षेपकर्ताहरुलाई बचत रकम बराबरको जग्गा दिने भन्दै चैत २९ गते सूचना प्रकाशित गरेको छ । यसअघि पनि घरजग्गा दिएर संस्थाको दायित्व राफसाफ गर्दै आएकोमा संस्थाले पछिल्लो पटक निक्षेपकर्ताहरुलाई सुर्यविनायक नगरपालिका–७ मा रहेको जग्गालाई प्लानिङ गरेर वितरण गर्ने योजना अघि सारेको हो ।
बचत दिन सकिन भनेर जग्गा लिन बाध्य पार्नु विकृती हो : चन्द्रप्रसाद ढकाल, बरिष्ठ उपाध्यक्ष नेफ्सकून
यसैगरी ललितपुरस्थिती पशुपति बचत तथा ऋण सहकारीले पनि सदस्यहरुलाई बचत रकम बराबरको जग्गा फिर्ता दिने भन्दै कार्यालयमा सूचना टासेको छ । सदस्यहरुको बचत फिर्ता गर्न नसकेपछि संस्थाले बचत रकममो सट्टामा जग्गा दिएर हिसावकिताव मिलाउन सदस्यलाई बाध्य पार्दै आएको छ ।
ओरेन्टल र पशुपति त प्रतिनिधि संस्था मात्रै हुन् । सदस्यबाट बचत संकलन गरेर घरजग्गामा लगानी गर्ने, जग्गा प्लटिङ गर्ने संस्थाहरुले उक्त जग्गा बिक्री नभएपछि सदस्यहरुलाई बचतको सट्टा जग्गा नै लिन बाध्य बनाउने क्रम बढ्दै गएको पाइन्छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले ऋण प्रवाह गर्न बन्द गरे घरजग्गाको कारोबारमा मन्दी छाएको छ । प्लटिङ भएका जग्गा बिक्री हुन छाडेपछि जग्गामा लगानी गरेका संस्था अप्ठेरोमा पर्न थालेका छन् । जग्गा बिक्री नहुँदा अप्ठेरोमा पर्न थालेपछि सहकारीहरुले सदस्यलाई नै जग्गा भिडाउने उपाय अपनाएका हुन् । यो कानुन विपरित भएपनि नियामक निकायले कारवाही नगर्ने भएकाले उजुरी भने परेको छैन ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकून) का बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सदस्यलाई बचतको सट्टा जग्गा लिन बाध्य बनाउनु विकृती भएको बताउछन् । ‘बचत तथा ऋण सहकारीहरुले बचतलाई ब्याजसहित फिर्ता गर्नुपर्छ’ उनले भने, ‘बचत दिन सकिन भनेर जग्गा लिन बाध्य पार्नु विकृती हो ।’
दोहोरो मारमा सहकारीका सदस्य
संस्थाहरुले बचतको सट्टा जग्गा लिन बाध्य बनाउदा सहकारीका सदस्यहरु दोहोरो मर्कामा पर्ने गरेका छन् । संस्थाले चलनचल्तीको मूल्य भन्दा महंगो बनाएर किन्न बाध्य बनाउदा सहकारीका सदस्य बचत फिर्ता हुने लोभमा महंगो मूल्यमा जग्गा स्विकार गरेर ठगिने गरेका छन् । सहकारी संस्थाहरुले सदस्यलाई खुलेआम जग्गा किन्न बाध्य बनाउदा समेत नियामक निकायले हस्तक्षेप गर्न सकेको छैन ।
Leave a comment