काठमाडौं । कृषिसँग सम्बन्धीत एक दर्जन संघमध्ये चारवटा संघ मर्ज भई दुई वटामा झरेको छ । पछिल्लो पटक चैत्र १६ मा पशुपन्छीपालन र मत्यपालन केन्द्रीय संघ मर्ज भएपछि पुनः कृषि सहकारीका केन्द्रीय संघहरुको विषय चर्चामा आएको छ । अझै कृषि क्षेत्रमा विभिन्न विषयगत ११ वटा संघहरु अस्तित्वमा छन् ।
देशभर ३० हजार सहकारी छन् । कृषिकै दर्जनौं संघ हुँदा पनि उत्पादन र बजारीकरणमा कुनै पनि क्रियाशील हुन सकेका छैनन् । कृषिकै दर्जन बढी विषयमा संघ गठन भएपनि सम्बन्धीत क्षेत्रको उत्पादन, बजारीकरण, प्रशोधन लगायत कुनै पक्षमा अब्बल छैनन् । उत्पादन र बजारीकरणमा उनीहरुको योगदान बढ्न सकेको छैन । तर, उनीहरुको ध्यान राजनीतिमा मात्रै केन्द्रित हुने गरेको छ ।
यहीँ चैत्र १६ मा पशुपन्छी र मत्यपालन केन्द्रीय संघ मर्ज भएर पशुपन्छीपालन मत्य सहकारी केन्द्रीय संघ बनेका छन् । यसअघि तरकारी तथा फलफुल र विउविजन सहकारी संघ एकीकरण भई कृषि विउविजन, तरकारी तथा फलफुल केन्द्रीय सहकारी संघ बनेको थियो । अब बाँकी रहेका ११ संघबीच पनि मर्जर हुनुपर्ने आवाज उठिरहेको छ ।
कृषिसँग जोडिएका अन्य केन्द्रीय संघहरू कृषि केन्द्रीय संघमा एकीकरण गर्ने र कृषि तथा उत्पादनसँग सम्बन्धित सहकारीको एउटा मात्रै कृषि संघ बनाउने बोर्डले प्रस्ताव गरेपनि त्यस विषयमा ठोस छलफल भइसकेको छैन ।
पशुपन्छीपालन मत्य सहकारी केन्द्रीय संघका अध्यक्ष बाबुराम अधिकारी दुग्ध सहकारीबाहेक अरुसँग मर्ज गर्न नमिल्ने बताउँछन् । ‘दूध केन्द्रीय संघसँग संभव भएपनि उहाँहरु मर्ज हुन इच्छुक हुनुहुन्न ।’ सहकारी ऐन २०७४ बन्दै गर्दा कृषिको राष्ट्रिय संघ बनाउन लबिङ गरिए पनि सुनुवाइ हुन नसकेको उनले सुनाए । ‘ऐन संशोधन हुँदा होला, अहिले कृषिको एउटै केन्द्रीय संघ संभव छैन’ उनले भने ।
कृषि विउँविजन, तरकारी तथा फलफुल केन्द्रीय सहकारी संघका अध्यक्ष विनोद पराजुली कृषिमा प्रभावकारी काम गर्नका लागि कृषिका विभिन्न विषयका संघहरु मर्जर अपरिहार्य भएको बताए । जुनार केन्द्रीय सहकारी संघसँग पनि मर्जबारे छलफल भइरहेको उनले जानकारी दिए ।
कृषि जोडिएको दुईवटा केन्द्रीय संघ बनेका छन् । तर, कृषि केन्द्रीय संघ भनिए पनि रुपमा कृषि, सारमा बचत रहेको पशुपन्छीपालन मत्य संघका अध्यक्ष अधिकारी बताउँछन् । साना साना किसान विकास आयोजनाबाट संघ बनेकाले धेरै प्रावधान जटिल छन् । ‘त्यसकारण उक्त कृषि सँग मर्ज गर्न गाहै्र होला’ उनले भने ।
राष्ट्रिय सहकारी नीति २०६९ पुनरावलोकन गर्दा कृषिसँग सम्बद्व सबै केन्द्रीय संघ मर्ज गरी कृषि केन्द्रीय सहकारी संघ बनाउने प्रस्ताव गरिएको छ । कृषिसँग जोडिएका अन्य केन्द्रीय संघहरू कृषि केन्द्रीय संघमा एकीकरण गर्ने र कृषि तथा उत्पादनसँग सम्बन्धित सहकारीको एउटा मात्रै कृषि संघ बनाउने बोर्डले प्रस्ताव गरेपनि त्यस विषयमा ठोस छलफल भइसकेको छैन ।
पराजुलीले संघ बलियो र व्यवसायिक बनाउँदै कृषिमा आत्मनिर्भर हुनेगरी अघि बढ्ने तयारी भएको बताए । ‘व्यवसायिक र व्यवस्थित संघ बनाउन मर्जर अभियान सुरु गरेका छौं’ उनले भने, ‘अरु पनि संघलाई मर्ज गर्ने योजना छ ।’
कृषि केन्द्रीय संघले कृषि क्षेत्रका सहकारीलाई समेट्न नसकेपछि दर्जनौं केन्द्रीय संघ स्थापना भएको सहकारीकर्मी गुनासो गर्छन् । कृषि केन्द्रीय संघ भनिए पनि उसले साना किसानद्वारा प्रवद्र्धन एक हजार सहकारी मात्रै उसका सदस्य छन् । देशभर कृषिक्षेत्रमा संलग्न १२ हजार भन्दा बढी सहकारी दर्ता छन् । पाठकले सदस्य बनाउन सिन्डीकेट गरेका कारण विषयगत संघ गठन व्यापक भएको सहकारीकर्मी बताउँछन् ।
सहकारी विभागले केन्द्रीय संघहरुलाई पत्राचार गरी साधारणसभा गरी गतिविधि गर्न र प्रतिवेदन बुझाउन पत्राचार गरेको छ । तर, अझै सबै संघले प्रतिवेदन बुझाएका छैनन् ।
कृषि केन्द्रीय सहकारी संघका अध्यक्ष खेम पाठक निश्कृय भएका संघहरुसँग मर्ज वा विघटनको मात्र विकल्प भएको बताउछन् । विभाग र राष्ट्रिय सहकारी महासंघले सेमत एकीकरण गर भनेर पहल गरिरहेको भन्दै नाम मात्रै राखेर ती संघहरुको अस्तित्व नजोगिने बताए । ‘हामीले मर्ज गरौं भन्दा अरुलाई अर्कै लाग्छ । उनीहरुको प्रस्ताव हामीले मान्ने कुरा हुन्छ । छलफल गर्न खोज्दा फुत्किने, भाग्ने गर्छन्’ उनले भने । कृषि केन्द्रीय संघ साना किसानको मात्रै नभई समग्र कृषि सहकारीको पनि भएको उनले दावी गरे ।

Leave a comment