सहकारीको अलग्गै दृश्य: उद्यमशीलतादेखि सामाजिक सेवासम्म सहारा 

सहकारीको अलग्गै दृश्य: उद्यमशीलतादेखि सामाजिक सेवासम्म सहारा  :: Sahakari Akhabar

काठमाडौँ । ‘बचत तथा ऋण सहकारी’ भन्ने बित्तीकै धेरैको दिमाग बचत सङ्कलन र ऋण लगानी गर्ने वित्तीय संस्थाको रूपमा छाप बसेको छ । अधिकांश सहकारी संस्थाहरूको सेवा पनि यसैमा सीमित छ । तर, झापा स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले भने आफूलाई वित्तीय सेवामा मात्र सीमित नराखी सदस्यको उद्यमशीलतादेखि समुदायमा सामाजिक काममा समेत सक्रिय भएर आफूलाई सहकारीहरूको भिडमा भने अलग पहिचान स्थापित गर्न सफल भएको छ ।

एक लाख ६० हजार सदस्य, १ अरब ६५ करोड सेयर तथा १ अरब जगेडा कोष, ९ अरब ५६ करोड बचत, १३ अरब १६ करोड ऋण लगानी र १५ अरब कुल वासलातको तथ्याङ्कका आधारमा नेपालकै ठुलो सहकारी दाबी गर्ने सहाराले सदस्यको जीवनस्तर र सामुदायिक विकासमा गरेको कामबाटै आफ्नो पहिचान स्थापित गर्न सफल भएको हो । लघुवित्त सेवामार्फत गरिब तथा विपन्न वर्गका व्यक्तिहरूको जीवनस्तर उकास्न लागिपरेको सहकारी सदस्यलाई बचत तथा ऋण सेवाका साथसाथै आफ्नो कार्यक्षेत्रभित्र सामाजिक कामहरूमा समेत अग्र स्थानमा छ ।

‘हामी बचत तथा ऋण सहकारी भए पनि पैसाको किनबेचमा मात्र सीमित हुँदैनौँ’ संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरी भन्छन्, ‘सदस्यदेखि समुदायसम्मलाई लाभ हुने गरी काम गर्नुपर्छ भन्ने भिजनमा अघि बढिरहेका छौँ, त्यसै अनुसार हामीले काम गरेका छौँ ।’ 

सदस्यलाई उद्यमी बनाउने अभियान 

लघुवित्त मोडलमा समूह बनाएर काम गरिरहेको सहारामा ऋण सेवामार्फत  सदस्यहरूलाई उद्यमी बनाउने अभियानसँग जोडेको छ । यसैको उदाहरण हुन् संस्थाका सदस्य सञ्जु पौडेल ।

सहारा सहकारीबाट तीन लाख रुपैयाँ ऋण लिएर आधुनिक रूपमा बाख्रा पालन ब्यावसाय सुरु गरेकी उनले खोरमा अहिले साना ठुला गरी एक सयको हाराहारीमा बाख्रा पुगेका छन् ।

सुरुमा परम्परागत रूपमा पशुपालन गर्दै आएकी उनी सहकारीको ऋण र प्राविधिक सहयोग पाएपछि आधुनिक रूपमा बाख्रा पाल्न थालेकी हुन् ।

बाख्रा पालनमै सक्रिय भएका अर्का सदस्य हुन् दुर्गा बहादुर मगर । उनले पनि आधुनिक खोर निर्माण गरेर बोयर र जमुना पारी जातका एक सय भन्दा बढी बाख्रा पालेका छन् । ४ वर्षदेखि बाख्रा पालनमा लागेका उनी अहिले यसबाटै वार्षिक तीन लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्छन् ।

सदस्यको उद्यमशीलतामा जोड दिँदै आएको संस्थाले कृषि व्यवसायमा ६ हजार ६२ जना, विदेशबाट फर्केका ३ हजार ३ सय ६८ जना युवालाई अटो ऋण, साना तथा मझौला उद्योगमा एक हजार २ सय र ९ हजार ३० जनालाई अन्य व्यवसायमार्फत स्वरोजगार बनाउन सफल भएको जनाएको छ ।

ऋणसँगै प्राविधिक सेवा

सहारा साकोसले सदस्यलाई उद्यमी बनाउनका लागि ऋण मात्र दिँदैन, ऋणसँगै संस्थाले दिने प्राविधिक सेवा पनि सदस्यका लागि अर्को सहारा बनेको छ । संस्थाले प्राविधिक कर्मचारी फिल्डमै खटाएर भेटनरी सेवाका साथै आवश्यक तालिम समेत दिने गरेको छ ।

‘हामी व्यवसाय गर्नका लागि आवश्यक तालिम र व्यवसाय सुरु गरेपछि प्राविधिक सेवा पनि फोनमार्फत र फिल्डमै आएर दिन्छौँ’ संस्थाकी प्राविधिक कर्मचारी सृजना आचार्यले भनिन् ।  यसै गरी संस्थाले बिमा कम्पनीसँग सहकार्य गरी बिमा सेवा समेत प्रदान गरेको छ ।

बिमा गर्नका लागि कृषकहरू बिमा कम्पनी वा संस्थामा धाउनु पर्दैन । बिमादेखि दाबी भुक्तानीसम्मको प्रक्रिया पनि सहकारीले नै सहजीकरण गर्दै आएको छ ।

यसै गरी कतिपय उत्पादक बजारीकरणमा समेत संस्थाले सहयोग गर्ने गरेको जनाएको छ । संस्थाले ४ हजार ९ सय १८ वटा पशु बिमा, ४० वटा फ्रेस हाउस निर्माणमा साझेदारी र ७ हजार ४१ किसानलाई बाख्रा र कुखुरा पालनमा सहयोग गरेको उल्लेख गरेको छ ।

सदस्यहरूलाई राहत कार्यक्रम

सहारा साकोसले अफ्ठेरो अवस्थामा सदस्यहरूलाई अभिभावक बनेर भरथेग गर्ने गरेको छ । संस्थाले कोरोना महामारीमा ४ हजार ५ सय सदस्यलाई पोषण सामाग्री वितरण गरेको थियो । यसै गरी कोभिड भएका १ हजार ७७० जना सदस्यलाई एक करोड २३ लाख ९० हजार नगद सहयोग, ७ हजार ८१६ जनालाई विपद् सापटी र सदस्यहरूलाई ब्याजमा १० प्रतिशत छुट दिँदा ३ करोड ४५ लाख राहत प्रदान गरेको संस्थाले जनाएको छ ।

संस्थाले सदस्यहरूलाई स्वास्थ्य उपचारमा समेत सहयोग गरिरहेको छ । हालसम्म ३८ हजार ८४५ सदस्यलाई उपचारका लागि ५१ करोड २९ लाख रुपैयाँभन्दा बढि सहयोग गरेको छ । यस्तै संस्थाका ज्येष्ठ सदस्य, एकल महिला पुरुषलाई सामाजिक  सुरक्षा भत्ता, ४ हजार ८९२ सदस्यलाई काजक्रिया खर्च दिएको छ ।

सदस्यलाई बचत ऋणका अतिरिक्त पु¥याएको सेवाकै कारण अन्तर्राष्ट्रियस्तरको स्मार्ट सर्टिफिकेट प्राप्त गर्न सफल भएको र हालसम्म कुनै पनि सदस्यको धितो लिलाम गर्न नपरेको कार्यकारी अधिकृत गिरीले जानकारी दिए ।

संस्थाले आफ्ना सदस्यलाई ९ सय स्यालो ट्युबवेल, एक हजार ४ सय टनेलका साथै १७९ जनालाई प्राविधिक शिक्षाका लागि छात्रवृत्ति समेत दिएको छ । यसै गरी १० हजार परिवारलाई सुधारिएको चुलो निर्माणमा सहजीकरण, १२ हजार परिवारलाई शौचालय निर्माणमा सहजीकरण, २५ हजार सदस्यलाई फलफूलको बिरुवा वितरण, ८ हजार दुई सय घरपरिवारमा लोसार र ३ हजार २४७ परिवारमा बायो ग्यास जडान गरेको जनाएको छ ।

सामाजिक काममा पनि अग्रसर

सहारा सदस्यको सेवामा मात्र सीमित छैन, आफ्नो समुदायमा सामाजिक काम गर्नुपर्छ भन्ने भिजनमा अघि बढेको संस्थाले समुदायका विपन्न परिवारलाई सहयोगदेखि विभिन्न सामाजिक काममा हात अगाडी बढाएको छ ।

रामदेव चौधरी, सहारा साकोसले स्थानीय सरकार र गैरसरकारी संस्थासँग समन्वय गरेर बनाइदिएको एकीकृत बस्तीमा बस्छन् ।

साहुको जग्गामा फुसको छाप्रोमा बस्दै आएको अहिले उनको परिवारसँग चिटिक्क परेको तिन कोठे पक्की घर छ ।

सहाराले २ हजार १५६ वटा विपन्न आवास निर्माणमा सहजीकरण गरेको छ। यसै गरी कोरोना महामारीमा अक्सिजन बैङ्क स्थापनामा भूमिका खेलेको संस्थाले ५ वटा एम्बुलेन्स सहयोग गर्नुका साथै ५ वटा खानेपानी ट्याङ्की निर्माणमा पनि सहयोग गरेको छ ।

यसै गरी सर्पदशं उपचार केन्द्रका साथै, कोभिड परीक्षण गर्ने पिसिआर ल्याब स्थापनामा पनि संस्थाको भूमिका अग्रणी रहेको छ ।



Leave a comment