काठमाडौं । ओरेण्टल को–अपरेटिभले निक्षेपकर्ताहरुलाई बचत रकम बराबरको जग्गा दिने भएको छ । ओरेण्टलले सूचना प्रकाशित गरी निक्षेपकर्ताहरुलाई सुर्यविनायक नगरपालिका–७ मा रहेको जग्गा दिने घोषणा गरेको छ । भक्तपुर साविक गुण्डु गाविसमा रहेको जग्गा दिएर निक्षेप फरफारक गर्ने सूचनामा उल्लेख छ ।
जग्गा वितरणका लागि प्लानिङ्ग नक्सा तयार भइसकेको छ । सहकारी विभागबाट स्वीकृति लिएर भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पेश गरिएको सहकारीले जनाएको छ । नक्सा स्वीकृत तथा कित्ताकाटको अनुमति प्राप्त भएमा साँवा निक्षेपबाट राफसाफ हुनेगरी जग्गा वितरण गरिने सूचनामा उल्लेख छ ।
निक्षेपकर्ताले प्राप्त गरेको अनलाइन दर्ता नम्बरको आधारमा सिलसिलेवार रुपमा जग्गा वितरण हुने जनाइएको छ । गोला प्रथा गरी कित्ता रोज्न पाइने व्यवस्था गरिएको छ । साना बचत भएकाहरु मिलेर संयुक्तरुपमा लिन सक्ने छन् ।
एकैघरका दुई निक्षेपकर्ता भएमा एकजनाले मात्रै जग्गा पाउने छन् । निक्षेपकर्ताले अर्कै व्यक्तिलाई पास गर्ने व्यवस्था पनि गरिएको जनाइएको छ । निक्षेपभन्दा बढीको मूल्य भएमा निक्षेपकर्ताले थप पैसा बैंकमा जम्मा गर्नुपर्ने छ ।

Leave a comment