काठमाडौं । लघुवित्त कारोबार गर्ने सहकारीकर्मीहरुले दुई ढुंगाको तरुल भएको गुनासो गरेका छन् । सोमबारबाट काठमाडौंमा सुरु भएको लघुवित्त सम्मेलनमा उनीहरु सहकारीमार्फत लघुवित्त कारोबार प्रभावकारी हुने भएपनि यसतर्फ सरोकारवालाहरुले चासो नदिएको बताए ।
कार्यक्रममा सहकारी संस्थाहरुको तर्फबाट कार्यपत्र पेश गर्दै सहारा नेपाल बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले लघुवित्त कारोबार गर्ने सहकारीहरुलाई आफ्नो पहिचाहन बनाउन अप्ठेरो भएको बताए । ‘लघुवित्तका साथीहरुले यो सहकारी हो भन्ने, सहकारीका साथीहरुले यो लघुवित्त हो भन्ने व्यवहार गर्छन्’ उनले भने, ‘हामीलाई काम गर्न अफ्ठेरो भएको छ, यसप्रति सरोकारवाला संवेदनशिल बन्न जरुरी छ ।’
सदस्य बनाएर कारोबार गर्ने भएकाले सहकारीहरुको लघुवित्त कारोबार अझ प्रभावकारी हुने गिरीले बताए । सहकारीको नाफा सदस्यहरुलाई सेयर लाभांस र संरक्षित पुँजी फिर्ता कोषमार्फत प्रतिफल बाड्ने भएकाले दोहोरो फाइदा पाउने उनले उल्लेख गरे । नेपालमा बचत तथा ऋण कारोबार गर्ने सहकारीहरुमध्ये १५ प्रतिशत सहकारीहरुले लघुवित्त कारोबार गर्दै आएको उनले जानकारी दिए ।
कृषि विकास बैंक, साना किसान लघुवित्त वित्तिय संस्था, आरएमडिसि, फस्ट फाइक्रोफाइनान्सका साथै राष्ट्रिय सहकारी बैंक र बाणिज्य तथा विकास बैंकबाट थोक कर्जा लिएर सहकारीहरुले लघुवित्त कारोबार गर्ने गरेका छन् । यसैगरी लघुवित्त कारोबार गर्ने सहकारीहरुमा बचतको आधार पनि बलियो भएको गिरीले बताए ।
Leave a comment