सहकारीमा तरलता संकट भयावह बन्दै

सहकारीमा तरलता संकट भयावह बन्दै :: Sahakari Akhabar

काठमाडौं । वित्तीय बजारमा तरलताको अभावको समस्या गहिरिदै गएपछि सहकारी संस्थाहरुमा पनि तरलताको संंकट देखिन थालेको छ । बजार प्रतिनिधिमार्फत दैनिक रुपमा बचत संकलन गर्ने सहकारीहरूमा बचत संकलन नै घट्न थालेपछि सदस्यहरुको बचत फिर्ता गर्न समेत समस्या हुन थालेको हो ।

सहकारीहरुले संस्थामा पर्याप्त तरलता नराखी जथाभावी लगानी गर्दा अहिले तरलताको समस्या हुन थालेको हो । पल्स मनिटरिङ सिस्टमले सहकारी संस्थामा १५ प्रतिशत तरलता हुनुपर्ने उल्लेख गरेको छ । सहकारी अखबारले १० वटा सहकारी संस्थामा सम्पर्क गर्दा २ वटा संस्थाले मात्रै १५ प्रतिशत हाराहारीमा तरलता कायम गरेको पाइएको छ । अन्य संस्थाहरूमा भने ५ प्रतिशत भन्दा पनि कम तरलता रहेको भेटिएको छ ।

संघिय सहकारी बिभागले २०७८ फाल्गुन १ गते जारी गरेको ८८ वुँदे निर्देशिकाको बुदा नम्वर २९ मा सहकारी संस्थाहरुले बचतको १०–१५ प्रतिशत सबै समय अनिवार्य तरलता कायम गनुपर्ने उल्लेख छ । तर अहिलेको समयमा अधिकांस सहकारी संस्थाहरुले उक्त प्रावधान कार्यान्वयन नगरेको फेला परेको छ ।

निर्देशनमा १० प्रतिशतभन्दा कम तरलता रहेको अवस्थामा ब्यवस्थापकले संचालक समितिलाई जानकारी गराइ यथाशिघ्र कायम गराउने र सहकारी संघ संस्थाले साप्ताहिक रुपमा तरलता गणना गरी लेखा सुपरिवेक्षण समितिको त्रैमासिक प्रतिवेदनमा समावेश बनाई संचालक समितिमा पेश गर्ने र तोकीए बमोजिमको तरलता कायम नरहेमा लाभांस बितरण गर्न नपाइने ब्यवस्था रहेको छ ।

यदि संचालक समितिले लाभान्स बितरण गरेमा संचालक समिती वाट दामासाही रुपमा असुल उपर गर्ने र सहकारी ऐन २०७४ को दफा १२५ उपदफा २ बमोजिम कारबाही गर्ने स्पष्ट ब्यवस्था रहेको छ । तर पनि हाल सहकारी संघ संस्थाहरु तरलता कार्यम गर्ने भन्दा पनि अन्धाधुन्द ऋण लगानी गरिरहेको र बचत पनि निरन्तर फिर्ता भैरहेको अवस्थाले यहि अवस्था अझै केही समय कायम रहे ठुलो समस्या आउने विश्लेषण गरिएको छ ।

बैंक तथा वित्तीय संस्थामा व्याजदर वृद्धि भएपछि सहकारीको रकम बैंकमा सरेको भन्दै सहकारीको सन्दर्भ व्याजदर वृद्धि गरिएको थियो । यसबाट सकारात्मक प्रभाव पर्न सकेको छैन । ललितपुर बचत तथा ऋण सहकारी संघका व्यवस्थापक सन्तोष बजगाईले प्रारम्भिक संस्थामै बचत वृद्धि नभएकाले संघहरुमा नयाँ निक्षेप नआएको बताउछन् । ‘सन्दर्भ व्याजदर बढेपनि प्रारम्भिक संस्थामै बचत आएको छैन’ उनले भने, ‘त्यसैले संघमा पनि बढेको छैन ।’

अत्यावश्यक परेको अवस्थामा संस्थाहरुलाई सानो ऋणहरुमा प्रवाह भइरहेको उनले जानकारी दिए । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्न नसकेकाले बजारमा पैसा अभाव भएको र त्यसले सहकारीमा दैनिक बचत संकलन समेत घटिरहेको उनले बताए ।

बजारमा ऋणको माग उच्च भएपछि प्रारम्भिक संस्थाहरुले संघ तथा सहकारी बैंकमा बचत गर्न छोडेका छन् । सदस्यहरुबाटै कर्जाको माग भइरहेकाले उनीहरुले पनि लगानीमै जोड दिएका न् । संस्थाहरुले तरलता व्यवस्थापनका लागि अनिवार्य रुपमा राख्नुपर्ने रकम समेत सबै सहकारीको नेटवर्क भित्र राखेका छैनन् ।



Leave a comment