समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा दाहाल

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा दाहाल :: Sahakari Akhabar

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा काशीराज दाहाललाई नियुक्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को नियमित बैठकले प्रशासनविद् दाहाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । यसैगरी सदस्यमा केशव आचार्यलाई पनि नियुक्त गरिएको बताइएको छ ।

तेस्रो अध्यक्ष कुमारप्रसाद पोखरेल सहितको समितिको कार्यकाल सकिएको एक महिना पछि नयाँ समितिमा दाहाल चयन भएका हुन। अध्यक्ष पोखरेलसहित सदस्यहरु टिका बुढाथोकी, ममतादेवी शर्मा, सरस्वतीदेवी भट्टराईको कार्यकाल फागुन ११ गतेबाट सकिएको हो । 

समितिमा हालसम्म तीन जना अध्यक्षले नेतृत्व गरेपनि एउटा पनि संस्थाको समस्या समाधान हुन सकेको छैन । ५ वर्षको अवधिमा तीन पटक नेतृत्व फेरिए पनि सहकारीका समाधान गर्न भने समिति असफल देखिएको छ । समिति सहकारी मन्त्रीका आफन्त तथा कार्यकर्ताको जागीर खाने ठाउ मात्र बनेको आरोप लाग्दै आएको छ ।

सरकारले सहकारी समस्या समाधान गर्न २०७४ पुस २९ गते ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ गठन गरेको थियो । समितिले सर्वोच्च अदालतले काम गर्न नदिएको भन्दै समितिले ओरेण्टल हेर्न छोडे पनि समस्याग्रस्त घोषणा भएका अन्य एक दर्जन सहकारीको पनि समस्या समाधान गर्न सकेको छैन ।

२०७० मा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको समस्याग्रस्त सहकारीको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनले १ सय ३२ वटा सहकारीमा समस्या देखाएको थियो । यीमध्ये हालसम्म १२ संस्था मात्रै समस्याग्रस्त घोषणा भएका हुन ।



Leave a comment