काठमाडौं । समस्याग्रस्त सहकारीहरुको समस्या समाधान गर्नकालागि व्यवस्था गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समिति पूर्नगठनमा ढिलाई भएको छ । तेस्रो अध्यक्ष कुमारप्रसाद पोखरेको सहितको समितिको कार्यकाल सकिएको एक महिना वितिसक्दा पनि नयाँ समिति चयन भएको छैन ।
अध्यक्ष पोखरेलसहित सदस्यहरु टिका बुढाथोकी, ममतादेवी शर्मा, सरस्वतीदेवी भट्टराईको फागुन ११ गतेबाट सकिएको हो । सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले समिति पूर्नगठनको लागि प्रक्रिया अघि बढिसकेको र छिट्टै नयाँ समिति गठन हुने जानकारी दिए । ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति पूर्नगठनको लागि फाइल अघि बढिसकेको छ’ उनले भने ‘दुई÷चार दिनभित्रै समितिले नयाँ नेतृत्व पाउँछ ।’
समितिमा हालसम्म तीन जना अध्यक्षले नेतृत्व गरेपनि एउटा पनि संस्थाको समस्या समाधान हुन सकेको छैन । ५ वर्षको अवधिमा तीन पटक नेतृत्व फेरिए पनि सहकारीका समाधान गर्न भने समिति असफल देखिएको छ। समिति सहकारी मन्त्रीका आफन्त तथा कार्यकर्ताको जागीर खाने ठाउ मात्र बन्न थालेको छ ।
अहिले पनि सहकारी मन्त्री शशी श्रेष्ठले आफ्ना मान्छे भर्ती गर्ने तयारी गरेको मन्त्रालय स्रोत बताउँछ । सरकारले सहकारी समस्या समाधान गर्न २०७४ पुस २९ गते ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ गठन गरेको थियो । समितिले सर्वोच्च अदालतले काम गर्न नदिएको भन्दै समितिले ओरेण्टल हेर्न छोडे पनि समस्याग्रस्त घोषणा भएका अन्य एक दर्जन सहकारीको पनि समस्या समाधान गर्न सकेको छैन ।
२०७० मा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको समस्याग्रस्त सहकारीको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनले १ सय ३२ वटा सहकारीमा समस्या देखाएको थियो । यीमध्ये हालसम्म १२ संस्था मात्रै समस्याग्रस्त घोषणा भएका हुन् ।
Leave a comment