हाइलाइट

सहकारीलाई महत्व नदिने नेता र पार्टीलाई ‘नो भोट’ 

सहकारीलाई महत्व नदिने नेता र पार्टीलाई ‘नो भोट’  :: Sahakari Akhabar

झापा । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सहकारी क्षेत्रलाई महत्व नदिने राजनीतिक पार्टी र नेतालाई ‘नो भोट’ भन्न सहकारीकर्मीलाई सुझाव दिएका छन् । 

६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना गरिएको ‘झापा को–अपरेटिभ सम्मेलन–२०७८’ मा सम्बोधन गर्दै पाण्डेले सहकारी क्षेत्रलाई प्राथमिकतामा राख्नका लागि दवाव दिनकै लागि ‘नो भोट’ अधिकार प्रयोग गर्न आग्रह गरे । ‘सहकारी क्षेत्रमा ठूलो पुँजी जम्मा भएपनि त्यसलाई परिचालन गर्न कानुनी बाधाहरु छन्’ उनले भने ‘त्यस्ता बाधा फुकाउनका लागि दवाव दिनकै लागि सहकारीलाई महत्व नदिने पार्टी र नेताहरुलाई नो भोट भन्न सक्नुपर्छ ।’ 

सहकारीमा ७ खर्व भन्दा बढि पुँजी जम्मा भएपनि संस्थाहरुलाई त्यो पैसा कहाँ खर्च गर्ने भन्नेबारे आइडिया नभएको भन्दै व्यवस्थापनको क्षमता बढाउन सुझाव दिए । यति व्यक्तिलाई उद्यमी बनाउछुँ भनेर लक्ष्य बनाएरै काम गर्न आग्रह गरे । ‘१० वर्षमा ५ सय मान्छे मान्छेलाई उद्यमी बनाउछुँ भनेर लक्ष्य राखेर काम गर्नुहोस्’ उनले भने, ‘त्यसबाट सहकारी क्षेत्र माथी उठ्न सक्छ ।’ 

नेपालमा राजनीतिक परिवर्तनपछि आर्थिक क्रान्तिमा लाग्नुपर्ने भएपनि परिवर्तनपछि फेरी राजनीतिमा लागेकाले देश आर्थिक रुपमा पछि परेको पाण्डेले बताए । यसैगरी नेपालीहरु गफ मात्र गर्ने अल्छि भएको र उत्पादनका काम नगर्ने प्रवृत्ति बढ्दै गएको र यो भष्ट्राचार भन्दा पनि खतरनाक भएको उनको भनाइ छ । 

सहकारी क्षेत्र देशको आर्थिक विकासको आधार भएको भन्दै यसलाई आवश्यक सहयोग गर्न आफु तयार रहेको पाण्डेले प्रतिवद्धता व्यक्त गरे । 



Leave a comment