इतिहास जोगाउन संघर्ष गर्दै पहिलो सहकारी 

इतिहास जोगाउन संघर्ष गर्दै पहिलो सहकारी  :: Sahakari Akhabar

चितवन । आज ६५ औं सहकारी दिवस । ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा देशभर उत्साह छाएको छ । सहकारीका संघसंस्थाहरुले विविध कार्यक्रम गरी उत्साह, उमंग साटिरहेका छन् ।

२०१३ सालमा आजकै दिन चितवन जिल्लाको बखानपुरमा बखान ऋण समिति स्थापना भएकै सम्झनामा हरेक वर्ष यस दिनलाई राष्ट्रिय सहकारी दिवसका रुपमा मनाइन्छ ।

तर, जुन सहकारीको सम्झनामा दिवस मनाइन्छ, त्यहि संस्था भने सहकारीको सिंगो इतिहास जोगाउन संघर्षरत छ भन्दा धेरैलाई पत्यार नलाग्ला । पहिलो सहकारीको अस्तित्व मेटिन लाग्दा पनि बचाउन कसैले चासो देखाएका छैनन् ।

बखान ऋण समितिका रुपमा स्थापित संस्था अहिले बखानपुर बहुउद्देश्यीय सहकारी संस्थाका रुपमा जिवित छ । तर, त्यसको रेखदेख र संरक्षणमा कोही लागेका छैनन् ।

२०४६ को बहुदलीय व्यवस्थासँगै समितिले बहुउद्देश्यीे सहकारीको रुप पाए पनि आर्थिक संकटमा गुज्रीरहेको छ । राज्य र सहकारी अभियानको  उदासिनता र वेवास्ताले बखानपुर सहकारीको इतिहास मेटिने चिन्तामा यसका सञ्चालकहरु छन् ।

संग्राहालय निर्माण अधुरै

नेपालको पहिलो सहकारीलाई संग्रहालय बनाउने अभियान वर्षाै अघिदेखि सुरु भएको हो । तर अहिलेसम्म सार्थक हुन नसक्दा संग्रहालय संचालनमा आउन सकेको छैन ।

बखानपुरलाई पहिलो सहकारी संग्रहालय बनाउने प्रयास पनि अलपत्र परेको छ । अध्यक्ष रेशमराज गुरुङले संग्रहालय बनाउन कसैले वास्ता नगरेको बताए ।

संग्रहालय निर्माण कार्य अलपत्र परेको पनि २ वर्ष बढी भइसेको छ । त्यसलाई पुनः सूचारु गर्न कसैले पनि चासो नदिएको उनको गुनासो छ ।

साढे ९ करोडको लागतमा संग्रहालय भवन बनाउने योजना अघि बढेको थियो । त्यसमध्ये ५ करोडको टेण्डर भइ निर्माण कार्य पनि सम्पन्न भइसकेको छ ।

बाँकी साढे ४ करोड सरकारले नदिँदा संग्रहालय अलपत्र परेको हो । अध्यक्ष गुरुङ भन्छन्–‘फोटोकपी गरेर डकुमेन्ट कति दिइयो, सरकारले सुन्नै छाड्यो ।’

सरकारको वेवास्ताका कारण संग्राहालयलाई कसरी व्यवस्थित गर्ने भन्नेमा चिन्ताले पिरोलेको उनले बताए । ‘संग्रहालय बनाउने अभियान सार्थक नहुँदा वाक्क दिक्क भइसके, कहिले पूरा होला हाम्रो सपना ?’ 

संग्रहालय बनाउनका लागि सहकारी अभियानबाट पनि कसैले पहल नगरिदिएको उनको गुनासो छ । ‘कसैको आर्शिवाद पाए संग्रहालय बन्न सक्थ्यो’ उनले भने,‘तर कसैले पनि केही गर्दैनन् ।’

बखानपुर सहकारीका पदाधिकारीले पनि संग्रहालय निर्माणका लागि लबिङ गर्न सकेका छैनन् । सहकारीका शीर्षस्थ निकायहरु राष्ट्रिय सहकारी महासंघलगायतले समेत इतिहास जोगाउन खासै भूमिका खेल्न सकेका छैनन् ।

सहकारीको इतिहास लामो भएपनि यसको ब्यालेन्ससिट खासै राम्रो छैन । संस्थाले व्यवसायिक काम गर्न खोजेको छ । तर आर्थिक अभावका कारण रचनात्मक काम गर्न सकेको छैन ।

बखानसिंह गुरुङको अगुवाईमा चितवनको तत्कालीन बखानपुरस्थित बखानटोलमा बखान सहकारी स्थापना भएको थियो।तर अहिले सहकारी मात्रै नभई इतिहास पनि गुम्ने खतरा बढ्दै गएकोमा पदाधिकारी चिन्तित छन् ।

२०७४ मा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संग्रहालयको शिलन्यास गरेका थिए । संस्थासँग ४ विगाहा जग्गा छ। ५ कठ्ठामा संग्राहलय निर्माण गर्ने योजना थियो

 २ वर्षभित्र पूरा गर्ने योजना भएपनि ४ वर्ष पूरा भइसक्दा पनि कहिले निर्माण हुन्छ भन्ने अन्योल रहेको संस्थाका कोषाध्यक्ष भक्त बहादुर गुरुङ्ग बताउँछन् ।

संग्रहालयमा संस्थापक अध्यक्षको हातबाट लेखिएको तमसुक, २०११ सालमा राप्ती दून परियोजनाका लागि झाडी फाँड्न प्रयोग गरिएको औजार उपकरण, ऐतिहासिक पुराना पैसा, संस्थाका अन्य बहुमूल्य समान राख्ने योजना छ ।

भ्रमणका लागि आउने समूहलाई आवासीय व्यवस्था, तालिम हल, भोजनालय, सहिद पार्क बनाउने, साँस्कृतिक पहिचान झल्कने बस्तु राख्ने योजना रहेको छ ।

संग्रहालयमा नेपालको इतिहाससँगै विश्वकै सहकारी अभियानको इतिहास राख्न सकिने जानकारहरु बताउँछन् । समग्र विश्वकै सहकारी इतिहास संग्रहालयमा राख्न सके बढी आकर्षण हुने अवलोकर्ताहरु बताउँछन् ।

संस्थाले अवलोकन गर्ने संस्थाबाट १ हजार ५ सय रुपैयाँ सहयोग शुल्क लिन्छ । अध्यक्ष गुरुङका अनुसार हेर्न, अवलोकन गर्नका लागि आउनेको संख्या कमी हुँदै गएको छ ।

सहकारीले यसअघि एउटा कोठामा संग्राहालय निर्माण गरेको थियो । तर भवन अभावका कारण संग्राहालयमा राखिएका सामग्री पोको पारेर राखिएको छ । उक्त स्थानमा सहकारीले तोरी मिल सञ्चालन  गर्दै आएको छ ।

बखानसिंह गुरुङको अगुवाईमा चितवनको तत्कालीन बखानपुरस्थित बखानटोलमा बखान सहकारी स्थापना भएको थियो।तर अहिले सहकारी मात्रै नभई इतिहास पनि गुम्ने खतरा बढ्दै गएकोमा पदाधिकारी चिन्तित छन् ।



Leave a comment