अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सहकारीले काम गर्नुपर्छ : मन्त्री आङबो 

अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सहकारीले काम गर्नुपर्छ : मन्त्री आङबो  :: Sahakari Akhabar

झापा । प्रदेश एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङबोले देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनका लागि काम गर्न सहकारी संघसंस्थाहरुलाई आग्रह गरेका छन् । ‘झापा को–अपरेटिभ सम्मेलन–२०७८’ को उद्घाटन गर्दै उनले उत्पादनमुलक क्षेत्रमा काम गर्नका लागि सहकारी संघसंस्थाहरुलाई आग्रह गरेका हुन् ।

‘अत्याधिक आयातका कारण देशको अर्थतन्त्र ओरोलो लागिरहेको छ’ उनले भने, ‘यो अवस्थामा अर्थतन्त्रलाई बलियो बनाउन उत्पादन बढाउन सहकारीहरुले काम गर्नुपर्छ ।’ सहकारी संस्थाको ब्यालेन्ससीट ठूलो हुदैमा मात्र त्यो सहकारी सफल भएको मान्न नसकिने भन्दै त्यसले आर्थिक विकासमा कति योगदान दियो भन्ने महत्वपूर्ण हुने उल्लेख गरे ।

वित्तीय क्षेत्रमा तरलताको अभाव भइरहेका बेला पुँजी निर्माणका लागि सहकारीले योगदान गरिरहेको भन्दै मन्त्री आङबोले सहकारी क्षेत्रको प्रशंसा गरे । कृषिप्रधान देशमा ठूलो मात्राका कृषि उपज आयात गर्नु लाजमर्दो भएको पनि उल्लेख गरे ।

६५ औं राष्ट्रिय सहकारी दिवसको झापा जिल्ला सहकारी संघको अवसरमा आयोजना गरिएको ‘झापा को–अपरेटिभ सम्मेलन–२०७८’ शनिबारबाट सुरु भएको छ । दुई दिनसम्म चल्ले सम्मेलनमा ४ सय भन्दा बढि सहकारीकर्मीहरुको सहभागिता रहेको छ । 



Leave a comment