सहकारीहरुको सम्पति शुद्धिकरणको रिपोटिङ गोएमएलमार्फत 

सहकारीहरुको सम्पति शुद्धिकरणको रिपोटिङ गोएमएलमार्फत  :: Sahakari Akhabar

काठमाडौं । सबै सहकारी संस्थाहरुले सम्पति शुद्धिकरण निवारणसम्बन्धी वित्तीय जानकारी इकाइमा गर्ने रिपोटिङ गोएमएल सफ्टवेयरमार्फत नै गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले सूचना जारी गर्दै २०७९ जेठ एक गतेबाट सिडी, पत्र वा इमेलमार्फत प्रतिवेदन नलिने जनाएको छ ।

अब सहकारी संस्थाहरुले गोएमएल सफ्टवेयरमा दर्ता गरी उक्त सफ्टवेयरकै म्यासेज बोर्डमार्फत प्रतिवेदन तथा सूचनाहरु पठाउनुपर्नेछ । सिमा कारोबारको सूचना एक्सल फरम्याटमा र शंकास्पद कारोबारको सूचना वर्ड, पिडिएफ र्फम्याटमा पठाउन सक्ने केन्द्रले जनाएको छ ।

सहकारी संस्थाहरुले वित्तीय जानकारी इकाईमा सिमा कारोबार र शंकास्पद कारोबारको सुचना दिनुपर्छ । सिमा कारोबार अन्र्तगत कुनै पनि व्यक्तिले एकैपटकमा १० लाख रुपैयाँभन्दा बढिको कारोबार गरेको त्यसको सूचना केन्द्रमा दिनुपर्छ । यसैगरी कुनै व्यक्तिले शंकास्पद ढंगले कारोबार गरेको पाइएमा पनि त्यसको सूचना केन्द्रलाई दिनुपर्छ ।

हाल बैंक तथा वित्तीय संस्था र विमा कम्पनीमा गोएमएल सफ्टवेयर अनिवार्य गरेपनि सहकारीको हकमा भने १० करोड भन्दा बढि कारोबार गर्ने संस्थाहरुलाई मात्र अनिवार्य गरिएको छ । सम्पति शुद्धिकरण निवारण ऐन अनुसार सहकारी पनि सूचक संस्था भएकाले केन्द्रले तोके अनुसार सूचना बुझाउनुपर्ने विभागका उपरजिष्टार टोलराज उपाध्यायले जानकारी दिए ।

सम्पति शुद्धिकरण निवारणसम्बन्धी व्यवस्था कार्यान्वयनका लागि विभागले २०७४ सालमै निर्देशन जारी गरेको छ । सहकारी संस्थाहरुले उक्त निर्देशन पालना नगरेको भन्दै एक दर्जन भन्दा बढि संस्थाहरु कारवाहिमा परेको विभागले जनाएको छ । 
 



Leave a comment