काठमाडौँ । सभा सम्मेलनमा सहकारीको उत्पादनको रूपमा प्रदर्शनी गर्न होस् या अतिथिहरूलाई मायाको चिनो दिन सहकारी उत्पादनको इज्जत धान्ने ब्रान्ड बनेको थियो ‘सहकारी मह’ । नेपाल मौरी पालन केन्द्रीय सहकारी सङ्घले लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई मोडलिङ गराएर ब्राण्डिङ गरेको उत्पादनले सहकारीको थोरै भए पनि इज्जत धानेको थियो । तर, त्यही उत्पादन पनि बजारबाट हराएको छ ।
केन्द्रीय सङ्घले जर्मन सहयोग नियोग (जिटीजेड) को आर्थिक सहयोगमा महको ब्राण्डिङ गरेको थियो । केन्द्रीय सङ्घले प्रारम्भिक संस्थाहरूबाट मह सङ्कलन गरी त्यसलाई प्रशोधन गरी बजारमा पठाउन गरेको थियो । महको प्रशोधन तथा बजारीकरणका लागि सङ्घले व्यवसायीक कृषि तथा व्यापार आयोजना (प्याक्ट)सँगको ४० लाख रुपैयाँ अनुदान पनि लिएको थियो ।
तर, अहिले सङ्घको मह सङ्कलन, प्रशोधन तथा बजारीकरण कार्यक्रम बन्द भएको छ । सुरुमा कलाकार द्वय मदनकृष्ण र हरिवंशले सहकारीको उत्पादन प्रवर्द्धन गर्न निःशुल्क काम गरेको र अहिले त्यसलाई निरन्तरता नदिने बताएपछि सहकारी मह ब्रान्डमा बजारीकरण बन्द भएको अध्यक्ष अर्जुन पोखरेलले जानकारी दिए । अहिले सङ्घले ‘कोप हनी’ ब्रान्डको ट्रेडमार्क दर्ता गरे पनि आफै त्यस ब्रान्डमा मह भने बिक्री गरेको छैन ।
सङ्घले प्रारम्भिक संस्थाहरूलाई उक्त ट्रेडमार्क सञ्चालन गर्न दिने गरेको अध्यक्ष पोखरेलले बताए । सङ्घमार्फत मह सङ्कलन तथा बजारीकरणको काम बन्द भए पनि मौरिपालन किसानलाई सहयोग हुने गरी विभिन्न गतिविधिमा भने सक्रिय रहेको पोखरेलले दाबी गरे । ‘हामीले सहकारीको उत्पादन सङ्कलन, प्रशोधन र बजारीकरणको काम मात्र बन्द गरेका हौँ’ उनले भने, ‘त्यसबाहेकका गतिविधिमा भने सङ्घ सक्रिय रहेको छ ।’
सङ्घको पहलमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पटेक तथा ब्लक कार्यक्रम सञ्चालन भएको, मौरी माइग्रेसनका लागि ट्रली निर्माण गर्न अध्ययन भइरहेको, प्रदेश र पालिकाहरूमा मौरी पालनलाई प्राथमिकतामा राख्नका लागि काम भइरहेको अध्यक्ष पोखरेलले बताए । ‘अहिले हाम्रो मुख्य जोड उत्पादनमा छ’ उनले भने, ‘उत्पादन बढाएपछि मात्र बजारीकरणमा सजिलो हुन्छ ।’
Leave a comment