काठमाडौं । ६५ औं राष्ट्रिय सहकारी दिवसको साताव्यापी कार्यक्रम सुरु भएको छ । बखान ऋण सहकारी स्थापना भएको स्मरण गर्दै हरेक चैत्र २० मा सहकारी दिवस मनाइन्छ । दिवसका अवसरमा सहकारी संघसंस्थाहरुले विविध कार्यक्रम तय गरेका छन् ।
जिल्ला सहकारी संघ बाँकले ‘समृद्धिमा सहकारीको भूमिका’ विषयमा कार्यशाला नै गर्ने भएको छ । आगामी चैत्र १७ र १८ गते हुने कार्यक्रममा सहभागिताकालागि २५०० रुपैयाँ शुल्क लाग्ने उल्लेख गरिएको छ । सो अवसरमा अर्थतन्त्रमा सहकारीको भूमिका, नेपालमा सहकारीको बिगत, बर्तमान र भविष्य, सहकारी अन्तर्राष्ट्रिय अनुभव, सहकारीमा महिला सशक्तिकरण, सहकारीमा नेतृत्व र व्यवस्थापनबीच अन्तरसम्बन्ध विषयमा छलफल हुने भएको छ ।
कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्षहरु केशवप्रसाद बडाल र दिपकप्रकाश बास्कोटा, महासंघका महाप्रबन्धक चित्राकुमारी सुब्बा, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई र नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गाप्रसाद ढकालले कार्यपत्र प्रस्तुती गर्ने तय भएको छ ।
त्यसैगरी जिल्ला सहकारी संघ झापाले चैत्र १९ र २० गते दुई दिन झापा कोअपरेटिभ समिट ०७८ गर्दै छ । समिटमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, अस्ट्रेयिाका पूर्व राजदूत महेशराज दाहाल, सहकारी विभागका पूर्व रजिष्ट्रार सुदर्शन ढकाल, केन्द्रीय कृषि सहकारी संघका लेखा समिति संयोजक महेश्वर सुवेदी तथा नेफ्स्कूनका पूर्व कोषाध्यक्ष केशव पोखरेलले कार्यपत्र प्रस्तुत गर्नछन् ।
कार्यक्रममा सहकारीमा प्रविधि,सहकारी ब्यवस्थापनमा सुशासन, कृषि उत्पादन बजारिकरण र उद्यमशिलता, सहकारीमा वित्तिय ब्यवस्थापन तथा झाफाका सहकारीको सम्भावन र चुनौती विषयमा चर्चा गरिने छ । त्यसैगरी जिल्ला सहकारी संघ ललितपुरले रक्तदान, प्रभातफेरी, दिप प्रज्वलन, सहकारी गोष्ठी तथा अन्तरक्रिया गर्ने भएको छ ।
१९ गतेदेखि २१ गतेसम्म दिवसका अवसरमा कार्यक्रम राखिएका छन् । यद्यपि, संघको चैत्र १७ गतेदेखि २० गतेसम्म निर्वाचनसहितको साधारणसभा पनि यस अघि नै तय भइसकेको छ । त्यस्तै जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकले चैत्र १७ गते सहकारी संस्थाहरुमा देखिएका समस्या समाधान तथा यसका उपायहरुका विषयमा अन्तरक्रिया गर्ने भएको छ ।
Leave a comment