काठमाडौं । उत्पादनदेखि बजारीकरणसम्म सहकारी जोडिनुपर्ने निजी क्षेत्रले प्रस्ताव गरेको छ । नेपाल चेम्बर अफ कमर्सले सहकारी मोडेलमा उत्पादन र बजारीकरण गर्न आवश्यक भएको प्रस्ताव सरकारलाई पेश गरेको हो ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कृषि उत्पादनदेखि बजारीकरणलाई सहकारीको अवधारणामा लैजानुपर्ने बताए । कृषि प्रधान मुलुकमा वार्षिक ५० अर्व ५३ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । ययरी खाद्यन्न आयात हुनु मुलुककै लागि दुर्भाग्य भएको उनले बताए । ‘आफ्नै जमिन बाँझो राखेर चामल, मकै, तरकारी, फलफुल, घिउ तेल, चिनी समेत आयत गर्दा मुलुकले थेग्नै नसक्ने गरि व्यापारघाटा बढीरहेको छ’ मल्लले भने ।
तीन खम्बे अर्थतनीति अन्र्तगत उत्पादन र बजारीकरणको काम सहकारीमार्फत गर्न सुझाएको हो । चेम्बरले बाँझो जमिन उपयोग मार्फत कृषि उत्पादन अभियान सुरु गरेको छ । चेम्बरले सरकार, निजी क्षेत्र र सहकारी मार्फत उत्पादनदेखि बजारीकरणसम्म योजनाबद्ध ढंगले काम गर्नका लागि सहकार्य गर्न सरकारसंग प्रस्ताव गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवसँग चेम्बरले आत्मनिर्भर कृषिका लागि सहकार्य गर्न प्रस्ताव गरेको हो । ‘सरकारले उपयुक्त लगानीको वातावरण बनाइदिने हो भने निजी क्षेत्र कृषिमा लगानी गर्न तयार छ’ उनले भने,‘ किसानको उत्पादन देखि बजारीकरणमा राज्यले साथ दिन आवश्यक छ ।’
खेती किसानीमा लाग्ने कृषकलाई राज्यले सहुलियत ऋणसँगै अनुदानको व्यवस्था गर्न सरकारसँग आग्रह गरिएको छ । कृषि क्षेत्रमा लगानी गर्नेलाई राज्यले अनुदान दिएपनि प्रभावकारी हुन सकेको छैन । सरकारबाट कृषि अनुदान लिएर जग्गाको कारोबार भइरहेकोे अध्यक्ष मल्लको भनाई छ ।
खेती हुन नसक्दा ३० प्रतिशत जमिन बाँझो छ । बाँझो जमिनलाई उत्पादनमुलक क्षेत्रमा लगाउन सरकार, निजी क्षेत्र र सहकारीले सहकार्य गर्नुपर्ने मल्ल बताउँछन् । चेम्बरले सहकार्य गरी ७७ वटै जिल्लामा कृषि उत्पादन अभियान सुरु गरेको छ । युवाहरुलाई व्यवसायिक खेती तर्फ आर्कषित गर्न चेम्बरले समन्वय गर्ने समेत अध्यक्ष मल्लले बताए ।
कृषिमैत्री वातावरण बनाउन तयार छौं– कृषि मन्त्री यादव
कृषि तथा पशुपन्छी मन्त्री महिन्द्रराय यादवले कृषिमा उत्पादकत्व वृद्धि तथा कृषक मैत्री वातावरण बनाउन सरकार लागि परेको बताए । कृषिमा पर्याप्त बजेट नहुँदा पनि अपेक्षा अनुसारको काम हुन नसकेको उनको भनाइ छ । कृषि उत्पादनको बजार सुनिश्चितताका लागि गृहकार्य भइरहेको मन्त्री यादवले बताए ।
कृषिकले उत्पादन गरेका बस्तुहरुको उत्पादन भण्डारणदेखि बजारीकरण सम्मको व्यवस्था सरकारले गर्नेगरी तयारी भइरहेको यादवले बताए । सरकारले पहिलो चरणमा चार प्रदेशमा कृषि उत्पादन बढाउन हरितगृह सञ्चालनमा ल्याउन लागेको छ ।
नीतिगत झन्झट
इजरायलबाट फर्किएका युवाहरुले मन्त्री यादवसँग नेपालमा कृषि उत्पादनमा भोग्नु परेका समस्या सुनाएका थिए । उनीहरुले विदेशी प्रविधि तथा उन्नत जातको विउ भित्र्याएर नेपालमा कृषि प्रर्वद्धन गर्न खोजेपनि नीतिगत झण्झटका कारण समस्या भएको गुनासो गरे ।
कार्यक्रममा इजरायलबाट फर्केर कृषि व्यवसाय गरिरहेकाहरु सहभागी थिए । सो अवसरमा इजरायलका लागि पूर्वराजदूत डा अन्जान शाक्यले इजरायलको कृषि प्रविधीबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
Leave a comment