काठमाडौं । बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरूलाई समस्याग्रस्त हुनबाट बचाउन व्यवस्था गरिएको स्थिरीकरण कोषमा सामेल हुन सहकारीले अनिच्छा गरेका छन् । कोष सुरु भएको दुई वर्षसम्म पनि सञ्चालनमा आउन नसकेपछि सहकारी संस्थाले नियमित योगदान गर्न छोडेका छन् । कोषका लागि रकम छुट्टयाए पनि नपठाइकन जगेडा कोषमा राखेको पाइएको छ । जसले गर्दा योगदान सुरु गरिसकेका सहकारीले पनि नियमित रकम जम्मा गरेका छैनन् ।
कोषको वार्षिक प्रतिवेदन अनुसार चालू आर्थिक वर्षमा ३३ सहकारीले मात्रै योगदान गरेका छन् । गत वर्षमा सामेल भएका सहकारीेले यस वर्ष खासै योगदान गरेका छैनन् । आर्थिक वर्ष २०७६/७७ मा योगदान गरेका १७ वटा सहकारीले आर्थिक वर्ष २०७७/७८ मा योगदान गरेका छैनन् ।
अघिल्लो वर्ष योगदान गरेका काभ्रेका विन्दबासिनी, सामुदायिक, ज्योति मिर्मिरे, नवपलपुरको परोपकार, दोलखाको एकीकृत फ्रेण्डसिप, जनमुखी, कास्कीको सर्वहित, चितवनको हिमाली, विजयालक्ष्मी, लोककल्याणकारी, नवलपरासीको जनकल्याण, सयपत्री साकोसले गत वर्ष स्थिरीकरण कोषमा योगदान गरेका छैनन् ।
त्यस्तै भक्तपुरको पारिजात, काठमाडौंको हाम्रो सुनौलो, बज्रबाराही, कपिलपस्तुको सिनर्जी, महोत्तरीको बर्दिवास साकोसले अघिल्लो वर्ष कोषमा निरन्तरता दिएको छैन । बिन्धबासिनी साकोस काभ्रेका प्रमुख कार्यकारी अधिकृत केबी लामाले स्थिरीकरण कोषबारे बुझ्न र बुझाउन अझै बाँकी रहेको बताए । ‘अझै सञ्चालन हुन नसक्दा सहकारीको विश्वास गुम्दै गएको छ’ उनले भने ।
सहकारीको मुल मर्म सहकार्य भएपनि ठूला सहकारीले योगदान गर्ने र बिग्रन लागेका सहकारीलाई दिने व्यवस्थाले समस्या पर्नेमा उनले चिन्ता व्यक्त गरे । ‘कोष सञ्चालनमा नआउँदा केही कन्फुजन छ’उनले भने,‘धेरैलाई हाम्रो पैसा खेर जाने हो कि भन्ने डर छ ।’
सहकारी ऐन तथा स्थिरिकरण कोष संचालन कार्यविधिमा कोषमा आवद्ध हुने ब्यवस्था स्वच्छिक छ । तर, नियमावलीमा भने स्थिरीकरण कोषमा रकम जम्मा गर्नुपर्ने बाध्यकारी प्रावधान छ । गत वर्षसम्म १ सय ५५ वटा संस्थाले योगदान गरेका थिए । हालसम्म १ सय ९१ संस्थाले ७ करोड रकम जम्मा गरिसकेका छन् ।
सहकारी नियामावली २०७५ अनुसार कोष सुरु गर्न न्यूनतम १० करोड रुपैयाँ जम्मा गर्नुपर्छ । तर, प्रारम्भिक भेला भएको २ वर्ष वितिसक्दा पनि कोषमा सहकारी संस्थाहरुबाट न्युनतम रकम जम्मा हुन सकेको छैन । जसको कारण अझै कोष सञ्चालनमा आउने सुनिश्चितता देखिएको छैन ।
सहकारीले आफ्नो नाफाबाट २५ प्रतिशत रकम जगेडा कोषमा छुट्याएपछि बाँकी रहेको नाफालाई शत प्रतिशत मानि २५ प्रतिशत संरक्षित पुँजी फिर्ता कोष र ०.५ प्रतिशत सहकारी प्रवद्र्धन कोषमा छुट्याएर बाँकी रहेको रकमको ५ प्रतिशत स्थिरीकरण कोषमा जम्मा गर्नुपर्ने प्रावधान छ ।
अधिकांश सहकारीकर्मीहरुले ५ प्रतिशतको थ्रेसहोल्ड बढी भएको बताएका छन् । नेफ्स्कूनले आयोजना गरेको स्थिरीकरण कोषसम्बन्धी कार्यक्रममै सहकारीकर्मीले ५ प्रतिशतको प्रावधान बढी भएकाले घटाउनुपर्ने सुझाएका थिए ।
कोषमा रकम जम्मा गर्नु मन्दिरमा भेटी चढाएजस्तो हुने आशंका धेरै सहकारीकर्मीमा छ । उक्त कार्यक्रममा सहकारीकर्मीहरुले योगदान गर्दा खेर जाने आशकां गरेका थिए । त्यसो त कोष सञ्चालनमा नआउदै ५३ लाख रुपैयाँ भन्दा बढि खर्च भइसकेको छ ।
Leave a comment