सहकारीहरूलाई बैंक तथा वित्तीय संस्थाको ४ अर्व ऋण 

सहकारीहरूलाई बैंक तथा वित्तीय संस्थाको ४ अर्व ऋण  :: Sahakari Akhabar

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले सहकारी संस्थालाई दिने ऋण ४ अर्व नाघेको छ । बैंकहरुले विपन्न वर्गमा अनिवार्य रुपमा गर्नुपर्ने लगानी वृद्धि भएसँगै सहकारीमार्फत ऋण प्रवाह पनि वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८/०७९ को माघ मसान्तसम्ममा ४ अर्व ९ करोड रुपैयाँ सहकारीहरुलाई होलसेल कर्जा प्रवाह गरेका हुन् । अघिल्लो आवको यसै अवधिमा बैंकहरुले सहकारीहरुलाई २ अर्व ५६ करोड कर्जा दिएकोमा एक वर्षको अवधिमा ५३ प्रतिशतले वृद्धि भएको हो ।

राष्ट्र बैंकको नियम अनुसार बाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले आफ्नो कुल कर्जा सापटको न्यूनतम ५ प्रतिशत रकम विपन्न वर्गमा कर्जा प्रवाह गर्नुपर्छ । न्यून आय भएका र खासगरी सामाजिकरुपमा पिछडिएका महिला, जनजाति, दलित वर्ग, फरक ढंगले सक्षम व्यक्तिहरु, सीमान्तकृत समुदाय तथा सानाकिसान, कालिगढ, मजदुर र भूमिहीन परिवारलाई विपन्न वर्गमा राखिएको छ ।

विपन्न वर्गको आर्थिक तथा सामाजिक उत्थानको लागि सञ्चालन हुने स्वरोजगारमूलक लघु उद्यमहरु सञ्चालन गर्न यस बैंकद्वारा तोकिएको सीमासम्म प्रवाह हुने लघु कर्जालाई ‘विपन्न वर्ग कर्जा’ अन्तर्गत गणना गर्न सकिने व्यवस्था छ ।

बैंकहरुले विपन्न वर्गमा कर्जा प्रवाह गर्ने शर्तमा “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाका साथै ग्रामीण क्षेत्रमा स्थापना भई संचालनमा रहेका सहकारी संस्थाहरुलाई विपन्न वर्गमा लगानी गर्ने गरी थोक कर्जा उपलब्ध गराउन सक्ने व्यवस्था गरेको छ ।

सहकारी अभियन्ताहरुले विपन्न वर्गको पैसा सबै सहकारीहरुले पाउनुपर्ने आवाज उठाउदै आएका छन् । तर बैंकहरुले भने केहि सिमित संस्थाहरुलाई मात्र यो कर्जा दिने गरेका छन् ।

बैंकहरुले विपन्न वर्गलाई गर्नुपर्ने लगानीमध्ये केहि रकम सहकारीमार्फत पनि परिचालन भएको राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले जानकारी दिए । ‘बैंकहरुले ग्रामीण क्षेत्रमा संचालनमा रहेका राम्रा संस्थाहरुलाई छनोट गरेरै विपन्न वर्ग अन्र्तगतको कर्जा दिदै आएका छन् ।

बैंकहरुले विगतमा नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त सहकारीहरुलाई मात्र यस्तो कर्जा दिदै आएका थिए । तर, राष्ट्र बैंकले सबै सहकारीहरुको इजाजतपत्र खारेज गरेपछि भने बैंकहरुले आफै संस्था छनोट गरेर कर्जा दिने गरेको विन्धबासिनी सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत केबी लामाले जानकारी दिए ।

‘बैंकहरुले विपन्न वर्गमा लगानी गर्नुपर्ने रकम होलसेलमा हामीलाई उपलब्ध गराउछन्’ उनले भने, ‘त्यो कर्जा सहकारीमार्फत लक्षित समूहमा पुग्दै आएको छ ।’ सहकारी अभियन्ताहरुले विपन्न वर्गको पैसा सबै सहकारीहरुले पाउनुपर्ने आवाज उठाउदै आएका छन् । तर बैंकहरुले भने केहि सिमित संस्थाहरुलाई मात्र यो कर्जा दिने गरेका छन् ।

बैंकहरुले समूह बनाएर लघुवित्त मोडलमा काम गर्ने सहकारीहरुलाई प्राथमिकता दिएर यस्तो कर्जा दिने गरेको सहकारीकर्मीहरु बताउछन् । बैंकहरुले विन्धबासिनी, जनसचेतन, सहारा, विकु, किसानजस्ता सहकारीहरुलाई ऋण दिएका छन् ।



Leave a comment