नमुना सहकारी घोटाला प्रकरणमा स्टोर किपर पनि पक्राउ

नमुना सहकारी घोटाला प्रकरणमा स्टोर किपर पनि पक्राउ :: Sahakari Akhabar

विराटनगर । मोरङको धनपालथान गाउँपालिका– ४ कर्सिया बजारमा रहेको नमुना सहकारी संस्थाको दुई करोड रुपैयाँ भन्दा बढी घोटला प्रकरणमा स्टोरकिपर पनि पक्राउ परेका छन् । प्रहरीले धनपालथान गाउँपालिका ६ घर भएका ५४ वर्षीय स्टोरकिपर सोभित नारायण राजवंशीलाई पक्राउ गरेको हो । सहकारीको २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदनमा राजवंशीको नाममा १ लाख २४ हजार रुपैयाँ बेरुजु देखिएको छ।

यसअघि प्रहरीले २ करोड रुपैयाँभन्दा धेरै ठगी गरेको आरोपमा प्रबन्धकसहित तीन जना कर्मचारीलाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा प्रबन्धक सुनवर्षी नगरपालिका–९ डायनिया घर भएका ६७ वर्षीय मो. सलिम उद्दिन, सहकारीका लेखापाल धनपालथान ४ कर्सियाका ६० वर्षीय सविलाल राजवंशी र सह–लेखापाल ५५ वर्षीय राजकुमार राजवंशी छन् ।

तीनै जनालाई फागुन ४ गते पक्राउ गरि प्रहरीले अनुसन्धान गर्दै आएको थियो । पक्राउ परेका सहकारीका कर्मचारीको बयानको आधारमा स्टोरकिपर राजवंशीको पनि घटनामा संलग्नता रहेको खुलेपछि उनलाई पनि पक्राउ गरि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सलिमसहित चार जनालाई इलाका प्रहरी कार्यालय रंगेलीले ठगी मुद्दामा मोरङ अदालतमा म्याद थप गरि अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मन्जिल मुकारूङले जानकारी दिए ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार पक्राउ परेका सहकारीका लेखापाल सविलाल राजवंशीले १ करोड, सह–लेखापाल राजकुमार राजवंशीले ६० लाख र प्रबन्धक सलिमले ३० लाख रुपैयाँभन्दा धेरै रकम हिनामिना गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ ।

‘सहकारीको रकम कसले कति हिनामिना गरेदेखिको घोटाला गरेको रकम कहाँ खर्चिए भन्ने विषयमा पनि अनुसन्धान गर्दै आएका छौं । थप अनुसन्धानपछि सबै विषय खुल्नेछ,’ एक प्रहरी अधिकृतले भने । 
सहकारीको सञ्चालक समितिका उपाध्यक्ष सर्वेलाल राजवंशीले लेखा परीक्षण प्रतिवेदनले सहकारीको ठुलो रकम भ्रष्टाचार भएको देखाएको बताए ।

लेखापरीक्षण प्रतिवेदनले अनियमितता पुष्टि गरेपछि सहकारीका तर्फबाट पनि छानबिन समिति बनाइएको थियो । लेखापरीक्षण प्रतिवेदन र छानबिनबाट अनियमितता भएको फेला परेपछि प्रहरीमा जाहेरी दिएको उपाध्यक्ष राजवंशीले बताए ।

सहकारीको झण्डै दुई करोड रुपैयाँ सहकारीका प्रबन्धकसहित कर्मचारीहरुले २०७४/७५ देखि आर्थिक वर्ष २०७७/७८ सम्ममा विभिन्न शिर्षकहरुमा हिनामिना गरेको लेखापरीक्षण प्रतिवेदनबाट देखिएको छ । सहकारीमा ५१० सदस्य छन् । सहकारीका अध्यक्ष गुलावचन मण्डल धनपालथान-३ का वडाध्यक्ष हुन् ।

लेखापरीक्षण प्रतिवेदनबाट सहकारीको कर्मचारीको मिलेमतोमा ठुलो रकम हिनामिना भएको देखिएपछि प्रहरीमा किटानी जाहेरी दिएर पक्राउ गरि अहिले अनुसन्धान भइरहेको अध्यक्ष मण्डलले बताए । मिलका लागि धान तथा गहुँ खरिद, बालुवा र गिट्टी ढुवानी तथा सनपाट खरिद एवम् बिक्रीका क्रममा रकम हिनामिना गरेको पाइएको छ ।



Leave a comment