काठमाडौं । सिंगो सहकारीको विकास र प्रवद्र्धनमा भूमिका खेल्नुपर्ने सञ्चार सहकारी केन्द्रीय संघ नै ‘कोमा’ मा पुगेको छ । लामो समयदेखि कुनै गतिविधि नगर्नुका साथै साधारणभा समेत नगर्दा संघको कार्यसमिति नै अवैधानिक भइसकेको छ । तर, विष्णुहरि ढकाल भने केन्द्रीय संघको अध्यक्षको हैसियतमा सहकारीका कार्यक्रममा सहभागिता जनाउने गरेका छन् ।
संघकी उपाध्यक्ष मना केसीले तीन वर्षयता कुनै काम गर्न नसकेको र कोभिड सुरु भएदेखि (२०७६ चैत्र) यता संघको बैठक समेत बस्न नसकेको जानकारी दिइन् । संघले ४ वर्षअघि संघिय सहकारी विभागसँग सहकार्य गरी सञ्चार सहकारीहरूको प्रवद्र्धनका कार्यक्रम गरेको थियो ।
त्यस्तै गोदावरीमा सकारात्मक सोचसम्बन्धी अनुशिक्षण कार्यक्रम समेत चलाएको थियो । त्यसपछि भने संघको गतिविधि शुन्य छ । संघले संचालन गरेको सहकारीसम्बन्धी समाचारमूलक वेवसाइट समेत बन्द छ ।
अध्यक्ष ढकाल भने सहकारी अभियानको असहयोगका कारण संचार केन्द्रीय संघले कुनै गतिविधि गर्न नसकेको बताउँछन् । ‘जेनतेन साधारणसभा गर्दै आएका थियौं’ उनले भने, ‘अधिवेशनको समय आएपछि साधारणसभा गर्न सकिएको छैन ।’ पछिल्लो समयमा कोभिडका कारण पनि अधिवेशन गर्न नसकिएको उनले दावी गरे ।
साधारण सभाको वैधानिकता दिन वर्षमा ३०/३५ जना सदस्य जुटाउन सकिए पनि १३ जना कार्यसमितिमा प्रदेशबाट प्रतिनिधित्व गराउनुपर्ने, महिला अनिवार्य हुने भएकाले कोरम पु¥याउनै मुश्किल हुने देखिएको बताए ।
तर, केन्द्रीय संघले भूमिका निर्वाह गर्न नसक्दा सञ्चार सहकारी संस्थाहरु सहकारीकरण हुन सकेका छैनन् । पुँजी जुटाउनका लागि सहकारी मोडेलमा गएपनि अधिकांश सञ्चार सहकारी कम्पनीकै रुपमा सञ्चालन भइरहेको जानकारहरु बताउँछन् ।
सञ्चार सहकारी देशभर १२० वटा दर्ता भए पनि केन्द्रीय संघमा ६५ वटा संस्था मात्र आबद्ध भएका छन् । सहकारीमार्फत ७५ वटा रेडियो, स्थानीय र केबुल टिभी २ वटा, राष्ट्रिय दैनिक पत्रिका एउटा सञ्चालन भइरहेका छन् । कतिपय सञ्चार माध्यम सहकारी मोडेलमा स्थापना भए पनि सहकारीको मर्म र भावना अनुसार सञ्चालन हुन सकेका छैनन् ।
कोभिडको समययता संघले केही गतिविधि गरेको छैन । तर प्रारम्भीक सञ्चार सहकारीले भने कोरोनाबाट बच्न अपनाउनुपर्ने उपाय, सावधानी सचेतनामूलक कार्यक्रम, कोरोना लागेपछि कसरी सावधानी अपनाउने लगायतका विषयमा रचनात्मक सामग्री दिएको अध्यक्ष ढकाल बताउँछन् ।
अध्यक्ष ढकाल कोभिडपछि ५ करोड भन्दा बढी रुपैयाँ बराबरको कोभिड सन्देशमूलक सामग्री सहकारीमार्फत सञ्चालन भएका सञ्चार माध्यमले निःशुल्क प्रसारण गरेको दाबी गर्छन् । स्थानीय तहसँग मिलेर सञ्चार सहकारीले समन्वय गरी सन्देशमूलक सामग्री उत्पादन गर्ने गरेको ढकालले बताए ।
सहकारी सञ्चारले स्वतः स्फूर्त भोलियन्टरको रूपमा सूचना प्रवाह गरिरहेका छन् । सामाजिक पक्षमा सञ्चारको भूमिका उल्लेख्य छ । अन्य सञ्चार माध्यमको तुलनामा सञ्चार सहकारीले सहकारीका गतिविधिलाई पहिलो प्राथमिकता राखेका छन् । सचेतनाका साथै सहकारीका गतिविधि प्रकाशन, प्रसारणमा प्राथमिकता दिइरहेको अध्यक्ष ढकाल बताउँछन् ।
सञ्चार सहकारी सक्षम र आत्मनिर्भर हुन सकेका छैनन् । बागलुङको आदर्श सञ्चार सहकारीले दैनिक पत्रिका, टेलिभिजन लगायत सञ्चारमाध्यम सञ्चालन गरिरहेको छ । यसका साथै बचत तथा ऋणको पनि काम गर्दै आएको छ ।
अध्यक्ष ढकाल सुरुमा सहकारी मोडेलमा मात्र लगानी गर्दा सहकारीले प्रभावकारी सञ्चार माध्यम सञ्चालन गर्न कठिन भइरहेकाले अन्य आम्दानीका माध्यम खोज्न आवश्यक भएको उनी ठान्छन् । बचत तथा उपभोक्ताको काम गर्न सके त्यहाँबाट प्राप्त आम्दानीले प्रभावकारी सञ्चार चलाउन सकिने उनको भनाइ छ।
बचत तथा ऋण एवम् अरू बिजनेस गरेर सञ्चार चलाउन सक्ने गरी अघि बढ्न सञ्चार सहकारी अपरिहार्य भइसकेको उनको भनाइ छ । सञ्चारले आफ्नै पहिचान गरी स्रोत खोज्न सक्ने, उपभोक्ताको काम गरी समाजको खाँचो टार्न सक्छन् । केन्द्रीय संघले सञ्चार सहकारीलाई आत्मनिर्भर बनाउन बाटो खोजीमा लागेको ढकाल बताउँछन् ।
सहकारी अभियानले सञ्चार सहकारीलाई बेवास्ता गरेका कारण पनि सञ्चार माध्यम प्रभावकारी ढंगले सञ्चालन हुन नसकेको उनले बताए । सहकारी आफैमा पारदर्शी नभएकाले पनि सञ्चार माध्यमको प्रवर्द्धन अभियानले नचाहेको ढकाल ठान्छन् ।
केन्द्रीय संघले सञ्चार सहकारीको विकासका लागि प्रोजेक्ट सञ्चालन गर्न खोजे पनि अभियानकै कारण सफल हुन नसकेको उनको अनुभव छ । सहकारी विभागसँग मिलेर एक वर्ष प्रोजेक्ट सञ्चालन गरेर कार्यक्रम गर्न खोजिए पनि अभियानकै असहयोगका कारण कार्यक्रम रोकिएको उनले गुनासो गरे । केन्द्रीय संघले रचनात्मक काम गर्न नसकेको, आर्थिक संकटमै गुज्रिएको स्वीकार्छन् ।
दिगो श्रोत व्यवस्थापन गर्न नसक्दा समस्या परेको उनले अनुभव सुनाए । ‘सहकारीले आफ्नो प्रचार आफै गरिरहेका छन् । जसले गर्दा सञ्चार सहकारी फस्टाउन पाएका छैनन्’ ढकाल भन्छन्, ‘पोसिलीमा करेक्सन चाहिन्छ, चेक एन्ड ब्यालेन्स गर्न सञ्चार सहकारी बलियो हुनुपर्छ ।’ सहकारी पारदर्शी नभएकाले मिडियालाई सक्षम बनाउन नहुने सहकारीकर्मीको धारणा रहेको उनले अनुभव सुनाए ।
Leave a comment