काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३२ सहकारीलाई कारवाही सिफारिस गरेको छ । बारम्बार ताकेता गर्दा अटेर गर्ने सहकारीलाई कारवाहीको सिफारिस गरिएको हो । महानगरको सहकारी विभागले सहकारीका १ हजार ४ सय बचतकर्तालाई ७४ करोड २६ लाख रुपैयाँ बचत फिर्ता गरेका छैनन् । सम्पर्क गर्दा पनि छलफलमा नआउने, निक्षेकपर्ताको निक्षेप फिर्ता नगर्ने सहकारीलाई कारवाहीका लागि प्रहरीमा पठाइएको काठमाडौं महानगर सहकारी विभाग प्रमुख देवेन्द्रप्रसाद पोखरेलले बताए ।
‘सदस्यले निक्षेप फिर्ता नपाएको, फिर्ता नगरेको उजुरी हाल्छन्’उनले भने,‘हामीले सात दिनको पत्र काट्छौं ।’ सञ्चालक समितिलाई सम्पर्क गर्ने, समय लिएमा केही समय दिएर पनि समस्या सुल्झाउन पहल गरेको उनले बताए । वार्ता गर्दा पनि अटेर गर्ने, मोबाइल अफ गरेर फरार भएपछि कारवाही गर्न प्रहरीलाई लेखिपठाउने गरेको उनले बताए । केही सीप नलागेपछि तीन पुस्ते विवरण राखेर आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाउने गरेको महानगरले जनाएको छ ।
महानगरले आनन्दनगर साकोसका १ हजार ४९ सदस्यको १४ करोड ६० लाख ८६ हजार रकम सञ्चालकले हिनामिना गरेको सदस्यले उजुरी गरेका छन् । जनजीविका साकोसले ३५ करोड १९ लाख, स्वतन्त्र शान्ति साकोसले २ करोड ५९ लाख, बिजनेस साकोसले २ करोड ५८ लाख रुपैयाँ हिनामिना गरेको उजुरी परेको छ ।
पछिल्लो समयमा सहकारीका समस्या समाधान गर्न महानगर सक्रिय देखिएको छ । महानगरको समन्वयमा ५० सहकारीको समस्या समाधान भएको छ । दुवै पक्षसँग छलफल गरेर सहकारीको समस्या समाधान गराएको सहकारी विभाग प्रमुख पोखरेलले बताए ।
काठमाडौं भित्र १ हजार ७ सय बढी सहकारी छन् । त्यसमध्ये ८ सयले वार्षिक प्रतिवेदन बुझाइसकेका छन् । थप सय संस्थाको प्रतिवेदन आउने महानगरले आँकलन गरेको छ । तर अन्य सहकारी निश्क्रिय रहेको महानगरको अनुमान छ।


Leave a comment