पेश्की झिकेर मनपरि खर्च  

पेश्की झिकेर मनपरि खर्च   :: Sahakari Akhabar

काठमाडौं । हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्थामा पेश्की तथा खर्च देखाएर लाभांस बाढ्ने तथा जथाभावी खर्च गर्ने गरेको खुलासा भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) योगेन्द्र कुमार साउदले ३५ लाख रुपैयाँभन्दा बढि रकम हिनामिना गरेर विदेश पलायन भएसँगै संस्थाको एकपछि अर्को अनियमितता सार्वजनिक हुन थालेको छ ।

संस्थाका अध्यक्ष परितोष पौड्याल नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष हुन् । उनी सहकारी संस्थाहरुलाई नीति, विधि र प्रविधमा चल्नुपर्छ भन्दै सिकाउदै हिड्ने गरेका छन् । तर, अध्यक्ष पौड्यालको आफ्नै संस्थामा भने पेश्की रकम झिक्ने, खर्च लेख्ने र त्यसबाट सदस्यलाई लाभांस दिने तथा विविध शिर्षकमा खर्च गर्ने गरेको नेफ्स्कूनले नै गरेको अनुगमनमा भेटिएको थियो।

‘संस्थाको संस्थागत पुँजी नकारात्मक भएपनि पेश्की झिकेर विभिन्न शिर्षकमा खर्च गरेको र सदस्यलाई लाभांस बाडेकोसम्म भेटिएको थियो’ नेफ्स्कूनबाट संस्थाको अनुगमन गरेका एक अधिकृतले भने । यसैगरी संस्थाले नियमअनुसार कोषमा रकम पनि नराखेको नेफ्स्कूनले गरेको अनुगमन प्रतिवेदनमा उल्लेख छ । यसअघि पौड्याल अध्यक्ष रहेको सहभागिता साकोसले पानी उद्योगमा लगानी गरेपछि संस्था विवादित बनेको थियो ।

संस्थाले प्रोवेशन ब्राण्डिङ कार्यक्रमका लागि नेफ्स्कूनसँग सम्झौता गरेको छ । तर, संस्थाले अहिलेसम्म ब्राण्ड भने पाएको छैन। ८ वटा सहकारीहरु मर्ज गरेर संस्थाले काठमाडौं, भक्तपुर र ललितपुरमा गरी ८ वटै सेवाकेन्द्र समेत विस्तार गरेको छ।

पछिल्लो समय सिइओ साउदले संस्थाको भल्टकै रकम चलाएको भेटिए पनि कानुनी कारवाही गरेको छैन । उनलाई जोगाउन संचालक नै सक्रिय भएकाले आशंका उब्जिएको छ। संस्थाका सचिव नवराज अर्यालले भने मुद्दामामीला गर्दा रकम नउठ्ने भएकाले त्यतातर्फ नलागेको दावी गर्छन् । ‘उहाँ आफै विदेशबाट फर्केर वेरुजु देखिएको जिम्मेवारी लिनुभएको छ’ उनले भने, ‘त्यस अनुसार असुली समेत भइसकेको छ ।’

संस्थाका सिइओ साउद खर्चअनुसार बिल भरपाई इन्ट्रि नहुँदा बेरुजु देखिएको दावी गर्छन् । ‘अहिले मलाई लेखापरिक्षण रिपोर्ट र हिसावकिताव हेर्न दिइएको छैन’ सहकारी अखबारसँग उनले भने, ‘संचालक समितिले भनेअनुसार २८ लाख ५० हजार रकम मात्र बुझाएको छुँ, खर्चहरु खातामा इन्ट्रि हुँदा कुनै बेरुजु देखिदैन ।’ उनले आफुले कुनै अनियमितता नगरेको उनले दावी गरे ।



Leave a comment