काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्यालको प्रारम्भिक संस्थामा लाखौं घोटाला भएको रहस्य खुलेको छ । पौड्याल अध्यक्ष रहेको हाम्रो एकीकृत बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) योगेन्द्र कुमार साउदले संस्थामा ३५ लाख रुपैयाँभन्दा बढि घोटाला गरेको सार्वजनिक भएको छ । सहकारी संस्थामा सिइओले लाखौं घोटाला गर्दा पनि उनलाई कानुनी कारवाही गर्नुको साटो जोगाउन संचालक समिति नै सक्रिय भएको पाइएको छ ।
सहकारी स्रोतका अनुसार सिइओ साउदले संस्थाको भल्टबाटै पैसा झिकेर चलाउने गरेका थिए । उनी संस्थामा जानकारी नगराई युके पलायन भएर उतैबाट अध्यक्ष पौड्याललाई फेसबुकमा राजिनामा पठाएपछि मात्र संस्थाको रकम हिनामिनाबारे जानकारी भएको हो ।
त्यसपछि संस्थाले आन्तरिक लेखापरिक्षण समेत गरेको छ । तर, लेखापरिक्षण प्रतिवेदन पनि गुपचुप नै राखिएको छ । संस्थाले साउदलाई नेपाल झिकाएर उनले हिनामिना गरेको रकम असुली प्रक्रिया अघि बढाएपनि उनलाई कुनै कानुनी कारवाही भने अघि बढाएको छैन । गैरकानुनी काम गर्ने सिइओलाई जोगाउन संचालक समिति नै सक्रिय देखिएको छ । स्रोतका अनुसार संस्थाको संचालक समिति साउदबाट असुल गर्न मात्र केन्द्रीत छ ।
पाँच वटा सहकारीहरु मर्ज गरेर बनेको एकीककृत सहकारीले पछिल्लो समय संस्था मर्जर गर्दै सेवा केन्द्र विस्तार गर्न सक्रिय भएको थियो । अनियमितताबारे सम्पर्क गर्न सहकारी अखबारले फोन गर्दा सिइओ साउदको मोवाईल नम्बर अफ रहेको छ ।
यसैगरी अध्यक्ष परितोष पौड्याल सम्पर्कमा आएनन् भने उपाध्यक्ष नवराज अर्यालले सामान्य अनियमितता भएको र त्यो असुल भइसकेको दावी गरे । ‘उहाँ आफै विदेशबाट आएर लेखापरिक्षणमा देखिए अनुसार हिसाब कितावको जिम्मेवारी लिनुभएको छ’ उनले भने, ‘त्यस अनुसार असुलीसमेत भइसकेको छ ।’
Leave a comment