सिभिल सहकारी पीडित फेरी सडक आन्दोलनमा 

सिभिल सहकारी पीडित फेरी सडक आन्दोलनमा  :: Sahakari Akhabar

काठमाडौं । लामो समयसम्म पनि बचत फिर्ता नपाएपछि सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका पीडितहरु सडक आन्दोलनमा उत्रिएका छन् । प्रहरीले अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरेको लामो समय बित्दापनि न्याय नपाएपछि पीडितहरु आन्दोलनमा उत्रिएका हुन् । पीडितहरुले छिटो मुद्दा टुङग्याएर बचत फिर्ता गर्न माग गर्दै उनीहरुले उच्च सरकारी वकिलको कार्यालय तथा उच्च अदालत पाटनमा धर्ना दिएका छन् ।

प्रमुख कार्यकारी सल्लाहकार तथा पूर्व अध्यक्ष इच्छाराज तामाङले २०६३ सालदेखि पटकपटक गरेर आफ्ना निजी हाउजिङ कम्पनी (सिभिल होम्स, सिभिल अपाटमेन्ट्स तथा सिभिल इस्टेट्स) मा सहकारीको ८ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ भन्दा बढी रकम बिना धितो ऋण लिएका छन् । उनले संस्थालाई सावाँ तथा ब्याज भुक्तानी गरेका छैनन् ।

प्रहरीले गरेको अनुसन्धानमा तामाङले सहकारीको रकम कम्पनीमा ऋण देखाएर त्यसबाट अपचलन गरेर सम्पत्ति विदेशमा समेत राखेको हुन सक्ने अनुमान गरिएको छ । तामाङले केही रकम श्रीमती र छोरीहरु, उनले भनेको मान्ने मान्छे र हालका अध्यक्ष केशवलाल श्रेष्ठका नाममा राखेको पाइएको छ । उनले घरजग्गा, सेयर, उद्योग, सिनेमा हल, रेस्टुरेन्टका साथै बैंकको निक्षेपमा लगानी गरेका छन् ।

तामाङले सिभिल सहकारीको काठमाडौंको सोल्टिमोडस्थित भवन समेत निजी कम्पनीमा नामसारी गरेर लगेका छन् । उक्त सहकारीको करिब एक अर्ब रहेको छ । तामाङले सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ तथा अन्य व्यक्ति/समुहसँग मिलेर खोलेका २१ वटा निजी कम्पनीमा रकम लगानी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले जनाएको छ ।

सम्पत्ती शुद्धिकरण अनुसन्धान बिभागले पनि तामाङ र उनको परिवारको श्रोत नखुलेको सम्पत्तिको खोजी गरिरहेको छ । तामाङका ५० वटा बैंक खाता, सेयर, घर जग्गा, उद्योग तथा रेस्टुरेन्टमा, उनकी श्रीमती सिर्जना शाक्य तामाङ र उनका दुई छोरीहरु प्रतिक्षा तामाङ र प्रतिष्ठा तामाङका बैंक खाता, सेयर, घर जग्गा, सिनेमा देखिएको छ ।

सहकारीले बचतको रकम नदिँदा विभिन्न रोगको उपचार गर्न नपाएर ११ जना बचतकर्ताको निधन भएको पीडितहरु बताउँछन् । तामाङ, श्रेष्ठ लगायत १२ जना ठगी तथा संगठित अपराधको अभियोगमा काठमाडौं जिल्ला अदालतको आदेशमा जेलमा छन् । यसैगरी सिर्जना शाक्य तामाङ सहित २९ जना फरार छन् ।

२०५७ साल अघि खासै सम्पत्ती नभएका तामाङले अहिले आफ्नो सम्पत्ति करिब २० अर्बको भएको बताउँदै आएका छन् । तामाङ २०५७ साल देखि २०६७ सम्म सिभिलका अध्यक्ष थिए । त्यसबेला उनले आकर्षक ब्याज, चिट्ठा र अन्य उपहारको भुलभुलैया पारी बचतकर्ताबाट रकम संकलन गरेका थिए ।

तामाङ सिभिल बैंकको अध्यक्ष भएपछि भने २०६८ सालदेखि केशवलाल श्रेष्ठ सहकारीको अध्यक्ष छन् । तर उक्त समयदेखि तामाङ सहकारीको प्रमुख कार्यकारी सल्लाहकार रहेर सम्पूर्ण ब्यबस्थापन तथा बित्त हेरिरहेका छन् ।

प्रमुख कार्यकारी सल्लाहकारलाई सञ्चालक समिति भन्दा माथि राखिएको छ । उनले प्रमुख कार्यकारी सल्लाहकार भएर महिनाको ५ लाख तलब र अन्य भत्ता खान्थे । सहकारीमा जम्मा भएको प्रायः सबै रकम बिना धितो उनका निजी कम्पनीमा लगेको पीडित डिल्लीप्रसाद भट्टराई बताउँछन् ।

अध्यक्ष श्रेष्ठले आफु नाम मात्रको अध्यक्ष भएको तथा सबै कारोबार तामाङले नै सम्हाल्ने गरेको काठमाडौं जिल्ला अदालतको बयानका क्रममा बताएका थिए । १ हजार ५ सय ३ बचतकर्ताले ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ७ रुपैयाँ फिर्ता नपाएको भन्दै सिआइबीमा उजुरी छ ।

बचतकर्ता मध्ये धेरैजसो ६० देखि ९० वर्षका सेवानिवृत्त कर्मचारी, महिला, व्यापारी र मजदुर छन् । उनीहरुले जिन्दगीभर कमाएको रकम बुढेसकालका लागि सहकारीमा जम्मा गरेका थिए । धेरै बचतकर्ता बिरामी छन् । कोही क्यान्सर, मुटु, किड्नीलगायत रोगले ग्रसित छन् ।

सहकारीले बचतको रकम नदिँदा विभिन्न रोगको उपचार गर्न नपाएर ११ जना बचतकर्ताको निधन भएको पीडितहरु बताउँछन् । तामाङ, श्रेष्ठ लगायत १२ जना ठगी तथा संगठित अपराधको अभियोगमा काठमाडौं जिल्ला अदालतको आदेशमा जेलमा छन् । यसैगरी सिर्जना शाक्य तामाङ सहित २९ जना फरार छन् ।



Leave a comment