सहकारीको “कोप रिसोर्ट”मा आकर्षण बढ्दै 

सहकारीको “कोप रिसोर्ट”मा आकर्षण बढ्दै  :: Sahakari Akhabar

ललितपुर । ललितपुर सुन्दर र प्राकृतिक छ । उपत्यकाभित्र रहेपनि पहाडी क्षेत्र रमणीय र पर्यटकीय स्थल छ । यसैलाई लक्षित गरी सहकारीले ललितपुरलाई पर्यटनको गन्तव्य बनाउन क्रियाशील भएको छ । ललितपुरका अधिकांश क्षेत्र पर्यटकीय गन्तव्य बन्न सक्ने आँकलन गर्दै सहकारीले कोप रिसोर्ट सञ्चालन गरेको छ । प्राकृतिक सुन्दरता मात्र नभई धार्मिक क्षेत्रले पनि स्थापित ललितपुरमा पर्यटकको आकर्षण बढ्दै गएको छ ।

प्राकृतिक पर्यटन सहकारी संस्थाले महांकाल गाउँपालिका वडा नम्बर ३ गोटीखेलमा कोप रिसोर्ट सञ्चालन गरेको छ । सन् २०२१ मार्चदेखि सुरु भएको रिसोर्ट पर्यटकको आकर्षण बन्दै गएको हो । संस्थाका अध्यक्ष रामशरण शर्मा घिमिरेले रिसोर्टसँगै टुर प्याकेज सञ्चालनको तयारी भइरहेको बताए ।

खेतीपाती नहुने पाखो जग्गा लिएर कार्यक्रम लक्षित रिसोर्ट सञ्चालन गरिएको सहकारीले जनाएको छ । पर्यावरण तथा आन्तरिक पर्यटनलाई जोड दिने सहकारीको योजना छ । गोटीखेल नजिक सीम्बा झरना, चमेरो गुफा, कालेश्वर महादेव, वैतर्णी धाम लगायत पर्यटकीय गन्तव्य क्षेत्र छन् । कालेश्वर महादेव सतीको गर्दन नष्ट भएको स्थानका रुपमा प्रख्यात छ ।

ठूल्ठूला होटलमा लामो समय काम गरिसकेका अनुभवीदेखि ट्रेनीसम्मका स्थानीयलाई प्राथमिकता दिइएको अध्यक्ष शर्मा बताउँछन् । राजधानीबाट दुईवटा बाटोबाट गोटीखेल पुग्न सकिन्छ । ३० देखि ४० किलोमिटरको दुरीमा रहेको उक्त स्थानमा निजी सवारी साधनमा २ घण्टामै पुग्न सकिने गोटीखेल पर्यटनको केन्द्र बन्न सक्ने सहकारीको अपेक्षा छ ।

संस्थाले टुर प्याकेज बनाएर रिसोर्ट  सञ्चालन गर्ने र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने योजना अघि सारेको अध्यक्ष शर्माले बताए । ‘यहाँ रमणीय र धार्मिक पहिचान भएका स्थान छन्’ उनले भने,‘टुर प्याकेज बनाएर पर्यटन प्रवद्र्धन गर्ने हाम्रो योजना छ ।’ कोप रिसोर्टमा कार्यक्रम दिनप्रतिदिन हुन थालेका छन् । गोटीखेलमा अरु त्यस्ता व्यवसायिक रिसोर्ट खासै नभएकाले सबैको ध्यान आकर्षित भइरहेको अध्यक्ष शर्मा बताउँछन् ।

उनका अनुसार सहकारी, स्थानीय तह, गैरसरकारी निकाय लगायतका कार्यक्रम हुन थालेका छन् । ५ सय बढी अट्ने हल भएकाले ठूलो कार्यक्रम गर्न पनि समस्या नभएको अध्यक्ष शर्मा बताउँछन् । ‘हललाई तीन भागमा बाँढेर छलफल पनि गर्न सकिन्छ’ उनले भने ।

सय जना अट्ने कोठा छन् । १२ वटा डिलक्स रुम छन् । ३ वटा स्ट्याण्डर्ड रुम छन् । संस्थाले साढे ४ रोपनी जग्गामा रिसोर्ट सञ्चालन गरेको छ । सहकारीमा ५५ जना सेयर सदस्य छन् । हालसम्म ६ करोड भन्दा बढी लगानी भइसकेको छ । ५ लाखदेखि २० लाखसम्म सदस्यले लगानी गरेका छन् । अध्यक्ष शर्मा थप जग्गा लिएर होमस्टे सञ्चालन गर्ने तयारी भएको बताउँछन् ।

संस्थाले स्थानीय उत्पादनलाई प्रोत्साहन दिने गरेको संस्थाका संस्थापक सचिव इन्द्र घिमिरे बताउँछन् । ग्रिन टि, ढिढो, लोकल खुकुरा लगायत स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको उनको भनाइ छ । कोप रिर्सोटमा अहिले ५ जना रोजगारी गर्छन् । सबै स्थानीय हुन् ।

ठूल्ठूला होटलमा लामो समय काम गरिसकेका अनुभवीदेखि ट्रेनीसम्मका स्थानीयलाई प्राथमिकता दिइएको अध्यक्ष शर्मा बताउँछन् । राजधानीबाट दुईवटा बाटोबाट गोटीखेल पुग्न सकिन्छ । ३० देखि ४० किलोमिटरको दुरीमा रहेको उक्त स्थानमा निजी सवारी साधनमा २ घण्टामै पुग्न सकिने गोटीखेल पर्यटनको केन्द्र बन्न सक्ने सहकारीको अपेक्षा छ ।



Leave a comment