काठमाडौँ । सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवेशले कयौँ क्षेत्रमा महिलाहरू पुरुषको तुलनामा पछाडि परेका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी, आर्थिक क्रियाकलापलगायतका क्षेत्रमा महिलाको सहभागिता र पहुँच पुरुषको तुलनामा न्यून छ । तर, सहकारी अभियान यस्तो क्षेत्र हो जसमा पुरुषको तुलनामा महिलाहरू अगाडी देखिएका छन् ।
सङ्घीय सहकारी विभागको तथ्याङ्क अनुसार देशभर सञ्चालनमा रहेका करिब ३० हजार सहकारी संस्थामा ३२ लाख १५ हजार पुरुष आबद्ध रहेकोमा महिलाको सङ्ख्या भने ४० लाख ९२ हजार रहेको छ । सहकारीमा महिलाको सहभागिता ५६ प्रतिशत रहेको छ ।
ग्रामीण क्षेत्रमा खुलेका सहकारीहरूले घरदैलोमा पुगेर प्रदान गर्ने सहज सेवाका कारण सहकारीमा महिलाहरूको सहभागिता बढ्दै गएको हो । सहकारीले महिलाको आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका खेलेको राष्ट्रिय सहकारी महासङ्घकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल बताउँछिन । ‘महिलालाई आर्थिक तथा सामाजिक विकास गर्दै शसक्तिकरण गर्नमा सहकारीको महत्त्वपूर्ण भूमिका छ’ उनले भनिन्।
नेपालमा कृषकलाई मल बीउ तथा पुँजी पुर्याउन सहकारी अभियान सुरु गरियो । पछि सरकारी र गैरसरकारी संस्थाहरूले महिलाको उत्थान र सशक्तीकरणका लागि सहकारी मोडललाई प्रोत्साहन गरेको पाइन्छ ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमार्फत महिला विकास सहकारी संस्थालाई प्रवर्द्धन गर्न थालेको थियो । त्यसपछि नारी चेतनालगायतका गैरसरकारी संस्थाले पनि महिलालाई सहकारीमा आबद्ध हुन प्रोत्साहन गरेको पाइन्छ । सहकारीका कारण महिलाहरूलाई बचत गर्न सिकाएको छ ।
विभागको तथ्याङ्क अनुसार मधेस प्रदेशमा मात्र सहकारीमा महिलाको सहभागिता पुरुषको तुलनामा कमजोर देखिएको छ । सहकारीमा महिलाको सहभागिता सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ ।
मधेस प्रदेशका सहकारीहरूमा तीन लाख पुरुष आबद्ध भएकोमा महिलाहरू भने २ लाख ५२ हजार मात्र रहेका छन् । यसबाहेक सबै प्रदेशमा सहकारीमा महिलाको उपस्थिति पुरुषको भन्दा बलियो रहेको छ ।
नेतृत्वमा पनि अघि बढ्दै
सहकारीमा आबद्ध भएका महिलाहरू आर्थिकसँगै सामाजिक विकासमा पनि महत्त्वपूर्ण भूमिका रहेको छ । घरको चुला चौकोमा मात्र सीमित महिलाहरूलाई आर्थिक तथा सामाजिक क्रियाकलापमा सक्रिय गराउँदै नेतृत्व विकास गराउन सहकारीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । तर, सहकारीमा महिलाहरूको सहभागिताको तुलनामा नेतृत्वमा उपस्थिति भने कमजोर छ । सदस्यमा पुरुषको तुलनामा महिलाको सहभागिता उच्च भए पनि नेतृत्वमा भने कमजोर रहेको छ ।
राष्ट्रिय सहकारी महासङ्घकी महाप्रबन्धक चित्रा कुमारी थामसुहाङ सहकारी ऐन २०७४ ले नेतृत्वमा ३३ प्रतिशत महिलाको सहभागिता अनिवार्य गरेकाले सहकारीमा महिलाको नेतृत्व विकास भइरहेको बत्ताउँछिन्। महिलाले मात्र सञ्चालन गरेका सहकारी पनि ४ हजार रहेको र नेतृत्वमा ३९ प्रतिशत र व्यवस्थापनमा ४९ प्रतिशत महिलाको सहभागिता रहेको उनले जानकारी दिइन् ।
Leave a comment