काठमाडौैं । संघिय सहकारी विभागले सहकारी संस्थाका संचालक तथा विभिन्न उपसमितिका सदस्यहरू र कर्मचारीको घरमा कार्यालय राख्न बन्देज लगाएको छ । यसैगरी उनीहरुले संचालन गरेका विभिन्न कम्पनीहरूबाट वस्तु तथा सेवा समेत लिन नपाउने व्यवस्था गरेको छ ।
सहकारीका संचालक तथा कर्मचारीहरूले आफ्नो घरमा कार्यालय राखेर मनलाग्दी भाडा लिने तथा विभिन्न सामान तथा सेवा उपभोग गर्दा आफ्नै कम्पनीबाट खरिद गरेर फाइदा लिने प्रवृत्ती बढ्दै गएपछि विभागले यसमा रोक लगाएको हो ।
विभागले फागुन एक गते जारी गरेको एकीकृत निर्देशनको ४७ नम्बर बुँदामा संचालक समिति, ऋण उपसमिति लगायतका उपसमिति, कर्मचारी वा निजको स्वामित्वमा रहेको घरभाडा लिई कारोबार नगर्ने, निजहरु संलग्न रहेको फर्म वा कम्पनीबाट बस्तु तथा सेवा खरिद नगर्ने निर्देशन दिएको नगर्ने र यससम्बन्धी आन्तरिक आचारसंहिता नै निर्माण गरी कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
विभाग स्रोतका अनुसार सहकारी संस्था अनुगमनका क्रममा संचालक, उच्च तहका कर्मचारीहरूले आफ्नो स्वामित्वमा रहेका घर संस्थालाई भाडामा दिएर आर्थिक लाभ लिदै आएको भेटिएको छ । यसैगरी संस्थाका लागि आवश्यक विभिन्न सामानहरु आफ्नै कम्पनीबाट खरिद गर्ने, कार्यक्रम आफ्नै होटल रेष्टुरेष्टमा तथा पार्टी प्यालेस प्रयोग गरेर समेत लाभ उठाउदै आएका छन् ।
‘संचालकहरु सहकारीको नेटवर्क प्रयोग गरी व्यक्तिगत लाभ उठाइरहेका छन्’ एक सहकारीकर्मीले भने ‘धेरै संस्थाको कार्यालय अध्यक्ष वा संचालकको घरमा छ ।’ यसैगरी सहकारी संचालक तथा कर्मचारीहरुले लाभ लिनकै लागि कम्प्युटर, स्टेशनरी सप्लायर्स, साधारणसभा लगायतका कार्यक्रम गर्ने रेस्टुरेन्ट तथा पार्टीप्यालेस जस्ता व्यवसायमा लगानी गर्ने क्रम बढिरहेको उनले दावी गरे ।
राष्ट्रिय सहकारी महासंघदेखि विषयगत केन्द्रीय संघ, जिल्ला संघ तथा प्रारम्भिक संस्थासम्मका संचालकहरु सहकारीको नेटवर्कलाई प्रयोग गरेर व्यक्तिगत लाभ लिइरहेका छन् ।
Leave a comment