काठमाडौं । सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत पुग्ने देखिएको छ । सरकार र सहकारी अभियानबीच १६ प्रतिशतको सहमतीकालागि छलफल भइरहेको बताइएको छ । पुस सम्मको तथ्यांक अनुसार १५.५ प्रतिशत सहकारीको सन्दर्भ ब्याजदर निस्किएको छ । तर, माघ र फागुनमा ब्याजमा धेरै उतार चढाव आएको छ ।
नेपाल बैंकर्स संघले भद्र सहमति गरी वाणिज्य बैंकहरुमा निक्षेप ११ प्रतिशत भन्दा बढी बनाएपछि सहकारीमा पनि सन्दर्भ ब्याजदर बढाउन दवाव बढेको छ । सहकारीकर्मीहरुले ब्याज बढाउन व्यापक लबिङ गर्दै आएका छन् ।
तत्काल तरलता अभाव हट्ने संभावना नदेखिएकाले असारसम्म वाणिज्य बैंकहरुको ऋणमै १८ प्रतिशत पुग्ने बैंकरहरु बताउँछन् । यता, सहकारीको ब्याजदर तय गर्न साउनयता पटकपटक बैठक बसेपनि अझै हेरफेर हुन सकेको छैन ।
शुक्रबार बिहानदेखि ब्याजदरको अध्ययन गर्न प्राविधिक उपसमितिमा छलफल जारी छ । प्राविधिक समितिले पछिल्लो तथ्यांकका आधारमा छलफल गरिरहेको छ । सहकारीको सन्दर्भ ब्याजदर डेढ प्रतिशतमा कुरो नमिल्दा बिहीबार ब्याजदर निर्धारण समितिले निणर्य गर्न सकेन ।
विभागले १५.७५ प्रतिशतमा अडान लिएकोले अभियानले १७ प्रतिशतको अडान छोडेको छैन । स्रोतका अनुसार प्राविधिक समितिको पछिल्लो तथ्यांकमा आधारित छलफल अनुसार १६ प्रतिशत आसपासमा ब्याज पुग्ने निश्चित देखिएको छ ।
प्राविधिक समितिको सिफारिसका आधारमा ब्याजदर निर्धारण समितिले ब्याजदर तय गर्ने छ । समितिको बैठक दिउँसो २ बजे बोलाइएको छ । स्रोतका अनुसार आजै ब्याजदर तय हुने देखिएको छ ।
Leave a comment