ब्याजदर बढाउने विषयमा अर्थमन्त्री, सहकारी मन्त्री तथा राष्ट्र बैंक समेत सकारात्मक नभएपछि विभागका रजिष्ट्रारले आनाकानी गर्दै आएका छन् ।
काठमाडौं । सन्दर्भ ब्याजदर बढाउन माग गर्दै सहकारीकर्मीहरुले संघिय सहकारी विभाग नयाँबानेश्वरमा धर्ना दिने भएका छन् । संन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक मंगलबारका दिउसो एक बजेका लागि बोलाइएको छ । उक्त बैठकबाटै सन्दर्भ व्याजदर तोक्न दवाव दिनका लागि बैठक बस्नु अघि विहान ११ बजे विभागमा धर्ना दिने भएका हुन् ।
सोमबार राष्ट्रिय सहकारी महासंघमा बसेको केन्द्रीय तथा जिल्ला तथा विषयगत संघहरुको बैठकले महासंघको अगुवाईमा विभागमा धर्ना दिने निर्णय गरेको हो । ‘भोली एक बजे सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक बस्ने भएकाले त्यसभन्दा अघि ११ बजे विभागमा उपत्यकाका सहकारीकर्मीहरुले धर्ना दिने निर्णय भएको छ’ महासंघको बैठकमा सहभागी ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरी बजगाईंले बताए ।
धर्नाका लागि उपत्यकाका तीनवटै जिल्ला तथा विषयगत संघमार्फत आवहान गर्ने निर्णय समेत भएको छ । यसैगरी मंगलबारको बैठकबाट ब्याजदर नतोके महासंघ आफैले व्याजदर तोक्ने समेत निर्णय भएको बजगाईंले जानकारी दिए ।
यसअघि पनि सहकारी विभागले व्याजदर नतोके आफै ब्याज तोक्ने निर्णय गर्दै महासंघले विभागमा तीनदिने अल्टिमेटम समेत दिएको थियो । अल्टिमेटम दिएको ६ दिन वित्दा पनि महासंघले यसबारेमा निर्णय गर्न सकेको छैन ।
महासंघले ब्याजदर तोक्दा गलत सन्देश जाने र आलोचित हुने भएकाले महासंघका नेताहरु पर्ख र हेरको अवस्थामा छन् । फागुनदेखि बैंक तथा वित्तीय संस्थाहरुले व्याजदर बढाएपनि सहकारीको पनि सन्दर्भ व्याजदर बढाउन सहकारीकर्मीले दवाव दिदै आएका छन् । तर, ब्याजदर बढाउने विषयमा अर्थमन्त्री, सहकारी मन्त्री तथा राष्ट्र बैंक समेत सकारात्मक नभएपछि विभागका रजिष्ट्रारले आनाकानी गर्दै आएका छन् ।
Leave a comment