साना किसानका छोराछोरी इजरायल जान पाउने 

साना किसानका छोराछोरी इजरायल जान पाउने  :: Sahakari Akhabar

काठमाडौं । साना किसान कृषि सहकारी संस्थाका सदस्यका छोराछोरी इजरायल जान पाउने भएका छन् । प्रशिक्षार्थी कृषि अध्ययनका लागि साना किसानका छोराछोरीलाई इजरायल पठाउन नेपालस्थित इजरायली राजदूतावासले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

कोभिड पछि प्रशिक्षार्थीका रुपमा जान सकेका थिएनन् । नेपाल कृषि सहकारी केन्द्रीय संघको टोलीसँगको भेटमा इजरायली राजदूत हानान गोडरले कोरोना भाइरस कोभिड १९ का कारण केही समयदेखी रोकिएको कृषि प्रशिक्षार्थी पठाउन आफू प्रतिवद्ध रहेको बताए ।

नेपाली साना किसान सदस्यको जीवन रुपान्तरणका लागि कृषि र पशुपालनमा आधारीत प्रशिक्षार्थी नेपालबाट पठाउने कार्यले नेपालको आर्थिक सामाजिक रुपान्तरणमा टेवा पुगेको उनको भनाइ छ ।

नेपालबाट प्रशिक्षार्थीका रुपमा इजरायल गएर १० महिना कृषिको अभ्यास र सिकाइसँगै आर्थिक उपार्जन गर्छन् । नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकले कृषि तथा पशुजन्य उत्पादनमा युवा किसानले खेलेको भूमिका प्रशंसा गर्न लायक रहेको बताए ।

नेपालका युवालाई इजरायलले प्रशिक्षार्थी विधार्थीका रुपमा अवसर दिएर नेपालका किसानलाई ठूलो गुन लगाएको उनको भनाइ छ । इजरायलमा प्रयोग भएको नविनतम प्रविधिलाई नेपालमा भित्राउन यस कार्यक्रम महत्वपूर्ण रहेको उनको भनाइ छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका युवा किसानलाई समेट्दै यो कार्यक्रममलाई अझै व्यापक बनाउनुपर्नेमा जोड दिए ।



Leave a comment