काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा तथा सेयरलगायतका क्षेत्रमा प्रवाह हुने कर्जामा कडाइ गर्ने भएपछि सहकारी संस्थाहरुलाई समेत प्रभाव पर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुको ऋण अनुत्पादन क्षेत्रमा प्रवाह हुँदा आर्थिक वृद्धिमा सकारात्मक प्रभाव पर्न नसकेको भन्दै केन्द्रीय बैंकले घरजग्गा तथा सेयर बजारलगायत अनुत्पादक क्षेत्रहरुको कर्जालाई कडाइ गर्न खोजेको छ ।
चालु आर्थिकको मौद्रिक नीतिको विहिबार गरिएको अर्धवार्षिक समिक्षामा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाकोजोखिम भारमा पुनरावलोकन गरिने उल्लेख गरेको छ ।
अब राष्ट्र बैंकले निर्देशन जारी गरे यी क्षेत्रका कर्जामा कडाइ गर्नेछ । बैंक तथा वित्तीय संस्थाहरुको घरजग्गा, रियलस्टेट कर्जामा कडाइ गरेपनि सहकारी क्षेत्र पनि प्रभावित हुनेछ । बैंकहरुको लगानी खुम्चिएपछि यसले घरजग्गा तथा रियलस्टेटको कारोबारमा मन्दी आउने र यसले यी क्षेत्रमा लगानी गरेका सहकारीहरुमा समस्या हुनसक्ने विश्लेषण गरिएको छ ।
विगतमा पनि राष्ट्र बैंकले घरजग्गाको लगानीमा कडाइ गरेपनि यो क्षेत्रमा लगानी गरेका सहकारीहरु समस्याग्रस्त समेत भएका थिए । सहकारी विभागको निर्देशन अनुसार सहकारीहरुले घरजग्गा तथा रियलस्टेटमा लगानी गर्न पाउदैनन् । तर, काठमाडौं लगायत सहरी क्षेत्रका सहकारीहरुले संस्थागत तथा ऋणीहरुमार्फत यो क्षेत्रमा ठूलो लगानी गर्दै आएका छन् ।
Leave a comment