काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले कसैको दबाब र प्रभावमा नपरि काम गर्न सहकारी विभागलाई निर्देशन दिएकी छन् । सहकारी विभागको अनुगमन तथा निरीक्षण गर्दै मन्त्री श्रेष्ठले सहकारीको सर्वमान्य सिद्धान्त, मूल्य र मान्यता अनुसार काम गर्न सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितलाई निर्देशन दिएकी हुन् ।
सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि अनुगमनलाई प्रभावकारी बनाउदै जिम्मेवार भएर काम गर्न निर्देशन दिएकी हुन् । ‘धेरै सहकारीले सिद्धान्त, मुल्य र मान्यताअनुसार काम नगरेको र सदस्य मारमा परेको गुनासो बढ्दै गइरहेको छन्,’उनले भनिन्,‘समयमा नै समस्या पहिचान गर्नुस त्यसको समाधानका लागि मन्त्रालय तयार छ ।’
मन्त्री श्रेष्ठले नियमित रुपमा सञ्चालनमा रहेका सहकारीको वास्तविक तथ्यांक संकलन गर्न जोड दिएकी छन् । सहकारी एकीकरणमा देखिएको समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ । सहरकारी प्रशिक्षण केन्द्रलाई स्तरोन्नती गर्नुपर्ने आवश्यकता उनले औंल्याइन् ।
संघीयताको मर्म अनुसार क्षेत्राधिकार भित्र रहेर सहकारी विभाग र प्रशिक्षण केन्द्रले परिणाम निस्कने गरी काम गर्नु पर्नेमा उनले जोड दिइन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सहकारी क्षेत्रमा सुशासन कायम गर्न जोड दिएका छन् ।
‘राम्रा काम गर्नेलाई सम्मान र नराम्रो गर्नेलाई दण्डित गर्न आवश्यक छ’ उनले भने,‘यसका लागि विभागले प्रभावकारी भूमिका खेल्नुपर्छ ।’ सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारी क्षेत्रका समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् । सहकारीको नियमन, प्रवद्र्धन र प्रशिक्षणलाई जोड दिएर कार्यक्रम ल्याउने उनको भनाइ छ ।
Leave a comment