हाइलाइट

अक्षता सहकारीले बचतकर्तालाई पैसा दिन सकेन 

अक्षता सहकारीले बचतकर्तालाई पैसा दिन सकेन  :: Sahakari Akhabar

काठमाडौं । बौद्ध टुसालस्थित अक्षता बचत तथा ऋण सहकारी संस्था बचतकर्ताको बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेको छ । संस्थामा तरलता अभाव भएपछि पैसा दिन छाडेको हो ।

बचत फिर्ता नपाएपछि संस्थाका सदस्यले आइतबार सहकारीको कार्यालय घेराउ गरेका थिए । घेराउ गर्न आएका सदस्यहरुलाई अध्यक्ष निमा लामाले संस्थामा तरलता अभाव भएको र विस्तारै पैसाको व्यवस्थापन गरेर फिर्ता गर्दै जाने आश्वासन दिएका थिए ।

यसबारेमा सहकारी अखवारले संस्थाको कार्यालयमा फोन गर्दा संस्थामा समस्या भएको हल्ला चलेपछि धेरै सदस्य एकैपटक पैसा माग्न आउदा फिर्ता गर्न नसकिएको स्विकार गरे ।

“संस्था समस्याग्रस्त भएको हल्ला चलेपछि धेरै सदस्य एकैपटक पैसा फिर्ता माग्न आउनुभयो” कार्यालयका एक कर्मचारीले भने, “तरलता अभाव भएपछि फिर्ता दिन सकेका छैनौं, विस्तारै पैसा व्यवस्थापन गरेर फिर्ता गछौं भनेर सम्झाउदै पठाउने गरेका छौं ।”

यसबारेमा बुझ्न खोज्दा संस्थाका अध्यक्ष लामा भने सम्पर्कमा आएनन् । बैंक तथा वित्तीय संस्था हुदै तरलताको अभाव सहकारीमा पनि देखिन थालेको छ । तरलता अभावका कारण ऋण असुली र बचत संकलन समेत प्रभावित भएपछि सहकारीहरुलाई बचत फिर्ता गर्न समेत समस्या हुन थालेको हो ।

सहकारीले न्यूनतम १० प्रतिशत तरलता व्यवस्थापन गर्नुपर्ने भएपनि संस्थाले यसमा ध्यान नदिदा बचत फिर्ता गर्न समेत समस्या हुने गरेको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकून) र राष्ट्रिय सहकारी बैंकले तरलता अभाव भएका संस्थाहरुलाई ऋण दिनका लागि छुट्टै कोष बनाएपनि त्यो प्रभावकारी हुन सकेको छैन ।



Leave a comment