बिना निष्कर्ष टुंगियो प्राविधिक समितिको बैठक

बिना निष्कर्ष टुंगियो प्राविधिक समितिको बैठक :: Sahakari Akhabar

काठमाडौं । सहकारीको सन्दर्भ व्याजदर सिफारीस गर्नका लागि गठित प्राविधिक उपसमितिको बुधबारको बैठक बिना निष्कर्ष टुंगिएको छ । अपडेट तथ्यांक आउन नसक्दा प्राविधिक समितिको बैठक बिनानिष्कर्ष टुंगिएको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले फागुन १ गतेदेखि निक्षेपमा ११.०३ प्रतिशत ब्याज दिन थालेका छन् । तर सहकारीले अहिले १४.७५ प्रतिशतमा ऋण प्रदान  गरिरहेका छन् । तर राष्ट्र बैंकका प्रतिनिधिले बैंकको पुस मसान्तसम्मको मात्रै तथ्यांक उपलब्ध गराएपछि बिना निष्कर्ष टुंगिएको हो ।

आइतबार बैठक बस्ने तय भएको छ । तर सन्दर्भ ब्याजदर टुंग्याउन चौतर्फी दवाव बढेकाले शुक्रबार नै बैठक बस्न सक्ने देखिएको छ । नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रशाद पोखरेलले बैठकले ठोस उपलब्धि हासिल गर्न नसकेको बताए ।

‘नयाँ तथ्यांक आउन केही समय लाग्ने देखिएको छ’ उनले भने,‘बैंकहरुले पठाएको रिपोर्टका राष्ट्र बैंकबाट तथ्यांक आउन समय लाग्ने देखियो ।’ सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायको संयोजकत्वमा गठित उपसमितिले ब्याजको समग्र पक्षको छलफल गरी विश्लेषण गरेको थियो ।

उपरजिष्ट्रार उपाध्यायले प्रतिनिधिहरुले ल्याएका तथ्यांकमा आधारमा विष्लेषण गरिएको बताए । ‘विश्लेषणकै क्रममा छौं, अध्ययन, विश्लेषण गरी सरोकारवाला निकायसँग समन्वय गरी अर्को बैठकमा प्रतिवेदन लेख्छौं’ उनले भने ।

बैंक तथा वित्तीय संस्थाको माघसम्मको तथ्यांक आउन पनि समय लाग्ने देखिएकाले तत्काल निर्णय गर्न नसकिने देखिएको उपरजिष्ट्रार उपाध्यायले बताए । ‘तथ्यांक आउन समय लाग्ने भएकाले विकल्प खोजेर भएपनि निचोडामा पुग्छौं’ उनले भने ।

महासंघले मंगलबार विभागका रजिष्ट्रारलाई ज्ञापनपत्र बुझाउँदै तीन दिनभित्र निचोडमा पुग्न अल्टीमेटम दिएको छ ।  सन्दर्भ ब्याजदर १७ प्रतिशत नबढ्ने गरी बनाउनुपर्ने र यसका साथै आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम लिन पाउने व्यवस्था गर्न सुझाएको छ ।



Leave a comment