अर्थमन्त्रीले भने सहकारीको व्याजदर बढाउन सकिदैन 

अर्थमन्त्रीले भने सहकारीको व्याजदर बढाउन सकिदैन  :: Sahakari Akhabar

काठमाडौं । अर्थमन्त्री जनादर्न शर्माले व्याजदर बढाउने विषयमा आफ्नो सहमति नरहेको स्पष्ट पारेका छन् । बैंक तथा वित्तीय संस्थाले व्याजदर वृद्धि गरेपछि सहकारीहरुको पनि सन्दर्भ व्याजदर बढाउन माग गरेपनि मन्त्री शर्माले अस्विकार गरेका हुन् ।

सन्दर्भ व्याजदर बढाउनुपर्ने माग बोकेर राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेँलको नेतृत्वमा सोमबार सहकारी नेताहरु अर्थ मन्त्रालय पुगेका थिए । “म  बैंक तथा वित्तीय संस्थाहरुले बढाएको व्याजदर घटाउनुपर्छ भन्ने पक्षमा छु” अर्थमन्त्रीलाई उदृत गर्दै महासंघका अध्यक्ष कडेँलले भने, “सहकारीको पनि व्याज बढाउनुपर्छ भन्ने मागमा सहमत हुन सक्दिन ।” 

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सन्दर्भ व्याजदर बढाउनका लागि अर्थमन्त्री समेत सहमत हुनुपर्ने संकेत गरेपछि महासंघ अर्थमन्त्रीलाई भेट्न पुगेको हो । व्याजदर समायोजनकै विषयमा सोमबार र मंगलबारमा मन्त्री श्रेष्ठ र नवनियुक्त रजिष्टार रुद्र प्रसाद पण्डितसँग समेत छलफल गर्ने महासंघले तयारी गरेको छ ।

सन्दर्भ व्याजदर पुनरावलोकन गर्न पुस पहिलो साता नै सन्दर्भ व्याजदर समितिको बैठक राखिएको थियो । उक्त बैठकमा महासंघले सन्दर्भ ब्याजदर १७ प्रतिशत पुर्याउन प्रस्ताव गरेको थियो।

तर, बैठकमा सहभागी अर्थ मन्त्रालय र राष्ट्र बैंकका प्रतिनिधिहरूले ब्याजदर बढाउने आधार नभएको भन्दै बिरोध गरेपछि एक साताका लागि बैठक स्थगित बैंठक पुनः बस्न सकेन । त्यसपछि बैंकमा तरलताको समस्या समाधान हुँदै गएको र तत्काल पुनरावलोकन  गर्न नपर्ने भन्दै समितिको बैठक बसेको छैन ।

बाणिज्य बैंकका सिइओहरुको छाता संगठन नेपाल बैंकर्स संघ निर्णय अनुसार फागुनदेखि बाणिज्य बैंकहरुकै अधिकतम व्याजदर ११.०३ प्रतिशत पुगेको छ । यसैगरी विकास बैंक तथा फाइनान्स कम्पनीहरुको व्याजदर त्यो भन्दा बढि छ । बैंकहरुले व्याज बढाएसँगै सहकारीलाई पनि दवाव बढेपछि सन्दर्भ व्याजदर बढाउन सहकारीकर्मीले लविङ तिव्र पारेका हुन् ।



Leave a comment