चार महिना नपुग्दै किन सरुवा भए रजिष्ट्रार अधिकारी ?

चार महिना नपुग्दै किन सरुवा भए रजिष्ट्रार अधिकारी ? :: Sahakari Akhabar

काठमाडौं । चार महिनाको जिम्मेवारी पूरा नगर्दै झलकराम अधिकारी सहकारी विभागबाट सरुवा भएका छन् । अधिकारीले कार्तिक पहिलो साता विभागको जिम्मेवारी सम्हालेका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी विभागका रजिष्ट्रार अधिकारीसहित  ३२ सहसचिवको एकै पटक सरुवा तथा पदस्थापन गरेको हो ।

कार्तिक पहिलो हप्ता मात्रै सहकारी विभागको जिम्मेवारी सम्हालेका अधिकारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) मा सरुवा गरिएको छ । रजिष्ट्रार अधिकारीले सहकारी क्षेत्र बुझ्न थालेकै बेला उनको अन्यत्र सरुवा गरिएको हो । यसअघिका रजिष्ट्रार लीलाप्रसाद शर्माको पनि छोटो समयमै सरुवा भएको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) मा रहेका रुद्रप्रसाद पण्डित र पद्यमनिधि सोती वा राष्ट्रिय दलित आयोगका निराजन घिमिरे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएका छन् । ती मध्ये कुनै एकले सहकारी विभागको जिम्मेवारी पाउने संभावना छ ।

स्रोतका अनुसार घिमिरेले सहकारी विभागको जिम्मेवारी पाउने संभावना बलियो देखिएको छ । रजिष्ट्रार अधिकारीले सहकारी ऐन, नियमावली पूर्णरुपमा कार्यान्वयन गर्न एकीकृत निर्देशन जारी गर्ने तयारी गरेका थिए। सरोकारवालासँग छलफल गरी एकीकृत निर्देशनको मस्यौदा तयार भइसकेको छ । विभागले जारी गर्ने अन्तिम तयारी गरिसकेको थियो ।

त्यस्तै अधिकारीले भिजन पेपर पनि तयार गर्दै थिए । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठको निर्देशनमा विभागले भिजन पेपर र एकीकृत निर्देशन तयार गरेका थिए । यसका साथै सहकारी ऐनसँग बाँझिएका थप अन्य ऐनको विषयमा पनि विभागले अध्ययन गर्ने तयारी गरेको थियो ।

सहकारी मन्त्री शशी श्रेष्ठका स्वकीय सचिव अशोक श्रेष्ठले सहकारी विभागमा कसलाई पठाउने भन्ने विषयमा अझै टुंगो लागिनसकेको बताए । आइतबारसम्म जिम्मवारी तोकिसक्ने उनले बताए ।



Leave a comment